प्रधान सेनापतिद्वारा लुम्बिनीको  सुरक्षा अवस्था बारे जानकारी

न्यूज ओके/लुम्बिनी 
नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले बुद्धजन्मस्थल लुम्बिनीको स्थलगत भ्रमण गरी त्यहाँको सुरक्षा अवस्था बारे जानकारी लिएका छन् । २५६२औं बुद्ध जयन्ती र त्यसअघि हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई लक्षित गरी लुम्बिनीको सुरक्षा अवस्था र त्यहाँ भएका अन्य भौतिक कामको बारेमा प्रधानसेनापति सहित उच्च अधिकारीको एक टोली मंगलबार लुम्बिनी भ्रमण गरी फर्किएको हो ।
यस बर्षको बुद्ध जयन्ती बैशाख १७ गते रहेको छ भने त्यस अघि १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा हुँदैछ । बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय सम्मेलनका लागी प्रधानमन्त्री खड्गप्रसाद ओली बैशाख १५ गते नै आउने र बुद्ध जयन्ती कार्यक्रम सकेर मात्रै राजधानी फर्कने तय भसकेको  । यस्तै राष्ट्रपति बिद्यादेबी भण्डारी पनि लुम्बिनी आउने तय भइसकेको छ । राष्ट्रपति भण्डारी सम्मेलनमा पनि सहभागी हुनेकी बुद्धजयन्तीको कार्यक्रममा मात्रै सहभागी हुने निश्चित भने भइसकेको छैन् ।
देश बिदेशका बिशिष्ट ब्यक्तिहरूको उपस्थितीमा यस बर्षको बुद्ध जयन्तीको कार्यक्रममा हुने भएपछि लुम्बिनीको सुरक्षा अबस्था, अतिथीहरूलाई राखिने आवास गृह, कार्यक्रमस्थल लगायत अन्य कार्यक्रमका बारेमा प्रधान सेनापतिले कोषसँग र सुरक्षा निकायसँग जानकारी लिएको लुम्बिनी बिकास कोषका कार्यबाहक सदस्य सचिब इ.सरोज भट्टराईले जानकारी दिए । सेनाका उच्च पदस्त अधिकारीसहित लुम्बिनी आएका प्रधान सेनापतिले कार्यक्रमस्थलको समेत अवलोकन गरेका थिए ।
यस पटक नेपाली सेनाकै तत्वाधानमा कार्यक्रम स्थल निर्माण भइरहेको छ । करिब तीन हजार जना क्षमता रहेको ट्रसको सभास्थल कम्तिमा पनि १० बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । ३ करोड ९७ लाख लागतमा निर्माण भइरहेको सभाहल अन्तिम चरणमा आईसकेको छ । निर्माणधिन सभाहल नजिकैको हेलिप्याड र वरपरका अन्य संरचना लगायतका बिषयमा प्रधान सेनापतिले जानकारी लिएका थिए ।
प्रधान सेनापतिले अन्तर्राष्ट्रिय सम्मेलन र बुद्ध जयन्तीको बिशेष कार्यक्रममा उपस्थित हुने स्वदेशी तथा अन्य बिदेशी बिशिष्ट ब्यक्तीहरूको बारेमा पनि जानकारी लिएका छन् । मायादेबी मन्दिर र वरपरका क्षेत्रको समेत अवलोकन र जानकारी लिई प्रधान सेनापती मंगलबार नै राजधानी फर्किएका छन् । राष्ट्रपति पनि लुम्बिनीमै बस्ने बिचारमा रहेको तथा प्रधानमन्त्रीले दुई रात नै लुम्बिनीमा बिताउने भएको हुँदा र स्वदेशका अन्य बिशिष्ट ब्यक्तीहरू तथा नेपाल स्थित बिभिन्न दुताबासका राजदुत र बिभिन्न देशबाट मन्त्रीहरू र बिशिष्ट ब्यक्तीहरू समेत आउने संभावना रहेकाले लुम्बिनीको सुरक्षालाई अहिले  बिशेष प्राथमिकता दिइएको छ ।
बुद्ध जयन्ति र बौद्ध सम्मेलनका लागी पाँच तहको सुरक्षा संयन्त्र लुम्बिनीमा अपनाइने भएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभाग र लुम्बिनी बिकास कोषकै सुरक्षा समूह परिचालन हुने भएका छन् । कार्यक्रम अबधि भर सुरक्षा ब्यबस्थालाई मध्यनजर गर्दै सेनाको एक टुकडी नै अस्थाई रूपमा त्यहाँ राखिने बुझिएको छ ।
बुद्धको जन्मस्थान लुम्बिनीका साथै बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहेका रूपन्देही, कपिलबस्तु तथा नवलपरासी जिल्लाका विभिन्न पुरातात्विक तथा धार्मिक स्थलहरूका साथै बुद्धका उपदेशहरूको प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रि बौद्ध सम्मेलन आयोजन गर्न लागिएको लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा आयोजना गर्न लागिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बौद्ध धर्म, दर्शन, संस्कृति तथा सम्पदा सम्बन्धि प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताहरूबाट १८ वटा उपशिर्षकहरूमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ती कार्यपत्रहरूको निष्कर्षको रूपमा लुम्बिनी सम्मेलन घोषणापत्र २०१८ जारी गरिने बताइएको छ ।(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)

Leave a Reply