न्यूज ओके रिपोर्टर । भैरहवा । बैंकहरूमा आर्थिक तरलता, अटो लोनमा कडाई जस्ता कारणले साना सवारी साधन बिक्री हुन छाडेपछि आयातकर्ताले एलसी खोलेर भारत तथा तेस्रो मुुलुकबाट आयात गरेका साना सवारी साधनहरू भन्सार नै नगरी त्यही परिसरमा पार्किंग गरी राख्न थालेका छन् ।
गत वर्षको तुलनामा साना सवारी साधन भित्रिने क्रम बढेपनि चालु वर्षको पुस महिना देखि निरन्तर घट्दै गएको भैरहवा भन्सार कार्यालयका सुचना अधिकृत गोपाल प्रसाद अर्यालले बताए ।
भैरहवा भन्सार कार्यालयले उठाउने कुल भन्सार राजस्व मध्ये सबैभन्दा बढी सवारी साधनबाट उठने गरेको छ, तर पछिल्ला तीन महिनामा उक्त शीर्षकमा राजस्व न्यून उठेको छ, यसले के देखाउँछ भने सवारी साधन आयात कम भएका छन् र आयात भएका पनि भन्सार भएका छैनन्, सूचना अधिकृत अर्यालले भने ।
अर्यालका अनुसार चालु वर्षको श्रावणमा ५८, भाद्रमा ५७, असोजमा ६४, कार्तिकमा ४९, मार्गमा ५१.३६, पुसमा ३८, माघमा ४३ र फागुनको ८ गतेसम्म २३ प्रतिशत मात्र राजस्व योगदान यो शीर्षकमा भएको छ ।
माघसम्म कार जिप भ्यान ७ हजार ९२, मोटरसाइकल ७३ हजार १ सय ७१, बस मिनिबस, माइक्रोबस ५ सय ४१, टेक्टर १८ हजार ९ सय ६९, ट्रक, मिनी ट्रक ३ हजार ३, सिंगल क्याब २ हजार १ सय ६९ र डबल क्याब ३ सय ४३ वटा चालु वर्षको माघ महिनासम्म आयात भएको तर फागुन महिनामा अत्यन्त कम आयात भएको पाइएको उनले जनाए । कतिपय गाडीहरू भन्सार परिसरमै पाकिंग भएर राखिएको तर भन्सार नगरिएको अवस्थामा रहेको उनले जनाए ।
भन्सारमा छिरिसकेका गाडी सामान्य अवस्थामा एक हप्ता भित्रै भन्सार गर्ने गरेको पाइएता पनि पछिल्लो समय एक महिनासम्म पनि भन्सार नगरेको भन्सार एजेन्ट संघ रूपन्देहीका पूर्व अध्यक्ष एवं भन्सार क्लियरिङ्ग एजेन्ट प्राचिन थैबले बताए । हुन्डाई टाटा गाडीको भन्सार क्लियरिङ्गको काम गर्दै आएका थैबले पुस, माघ र फागुन महिनामा जम्मा ९६ वटा हुन्डाईका गाडी भन्सार गरी पठाएको बताए । टाटाका विभिन्न गाडीहरू ७ सय ८२ वटा भन्सार गरी माघ महिनामा पठाएका उनले अहिले भारततर्फ सुनौलीका विभिन्न स्थानमा हुन्डाईका ८ सय र टाटाका करिब १५ सय गाडी पार्किंग गरी राखिएको बताए ।
हुन्डाईका महगा २५ वटा गाडी भन्सार परिसरमै महिनांै दिन देखि राखिएका छन् । उता सुजुकीका पनि सयौं गाडी पार्किंग गरी राखिएका छन् । आयातकर्ताले भन्सारमा नगद भुक्तान गरी लानु पर्ने तर नेपालमा बैंकहरूको अटोलोनमा कडाईसंगै सवारी साधन नबिक्ने डरले उनीहरूले एलसी खोलेर ल्याएका गाडीको भन्सार नगरी पार्किङ शुल्क बुझाउँदै बसेका छन् । वित्तीय तरलताको कारण अटो ब्यबसाय मार्फत हुने सरकारको राजस्व पनि गुुम्दै गएको छ ।














