फौजी किरा : रुपन्देहीमा नियन्त्रणमा आएन्

0
107

करीब ७ करोडको गहुँ बाली नष्ट

भुवन पाण्डे                                                                                                                                      भैरहवा ।

फौजी किराको प्रकोपले रूपन्देहीमा करिब ६ करोड ९० लाख बराबरको गहुँ बाली नष्ट गरेको छ ।करिब १२ हजार हेक्टर गहुँ बालीमा फैलीएको प्रकोपले ३४ सय ५० मेट्रिक टन बराबरको गहुँ नष्ट गरेको कृषि विकास कार्यालयले जनाएको छ । २ हप्ता अघि देखि शुरू भएको फौजी किराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन् ।

शुरूमा रूपन्देहीको पूर्वी गाविसहरूबाट शुरू भएको प्रकोप पश्चिम तर्फ फैलिदै गएको छ । अहिले रूपन्देहीको १ नगरपालिका सहित १० गाविसमा प्रकोपका रूपमा फैलिएको फौजी किरा सामान्य रूपमा जिल्ला भरिनै फैलिएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सहसराम चौधरीले बताउनुभयो । जिल्लाको पजरकट्टी, बोधबार, छिपागढ, पट्खौली, पोखरभिण्डी, बसन्तपुर, बगाहा, सिक्टहन, मैनहीया, छोटकी रामनगर गाविस र तिलोत्तमा नगरपालिकामा बढी प्रकोपका रूपमा फैलीएको छ ।

क्षेत्रीय कृषि निर्देशनालय पोखरा, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय रूपन्देही प्रकोप नियन्त्रणमा जुते पनि नियन्त्रणमा आउन नसकेको हो । कृषि प्राविधिकहरू गाँउ गाँउमा गएर बिषादी प्रयोगका लागि किसानहरूलाई प्राविधिक सल्लाह दिइरहेका छन् । कम जनशत्तिका कारण सबै क्षेत्रफलमा भने प्राविधिकहरू पुग्न सकेका छैनन् । कार्यालयले करिब ७० हजार बराबरको बिषादी बढी प्रकोप भएका गाविसहरूमा बितरण गरेको छ । गहुँ बालीमा किरानै लाग्दैन भन्ने सोँचले बालीमा ध्यान नदिदा प्रकोपको रूप लिएको कृषि बिज्ञहरूको भनाइ छ । फौजी किराले काटेको धान हेर्दा बाख्रा चरेजस्तो देखिने हुँदा पनि किसानहरू झुक्किने गरेका छन् ।

राष्ट्रिय गहुँ बाली कार्यक्रम भैरहवाकी कित बिज्ञ बिनिता शर्माका अनुसार रातको मौसम परिवर्तनले गर्दा किराको प्रकोप बढेको बताउनुभयो । गहुँ सिजनमा रातको बेला पहिले पहिले ३, ४ डिग्रि तापक्रम रहन्थ्यो तर यो वर्ष १३, १४  डिग्रि सम्म तापक्रम छ । जसले गर्दा कम तापक्रम भएको ठाउँबाट किराहरू आफ्नो प्रजनन बढाउन आउने गर्दछन् ।

रूपन्देहीमा पनि मौसमकै परिवर्तनले प्रकोपका रूपमा फैलीएको कित बिज्ञ  शर्माको भनाई छ । फौजी किरा मार्न साइपरमेथ्रीन ५ प्रतिशत र क्लोरोपाइरीफस  ५० प्रतिशत मीश्रण भएको विषादी २ मिलि प्रति लिटर पानीमा घोल्नु पर्छ । सो विषादी एक कठ्ठा खेतकालागि १५ लिटर अर्थात बिरूवा र माटो राम्रोसँग भिज्ने गरि छर्न विज्ञहरूले सुझाव दिएका छन् ।

Leave a Reply