न्यूज ओके रिपोर्टर भैरहवा ।
भन्सार कार्यालय मार्फत् हुने बैदेशिक आयात निर्यात साथै भन्सारको काम कारबाहीलाई अझै सरलिकरण गर्दै समय सापेक्ष बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । ६५ औं भन्सार दिवसको सन्दर्भ पारेर न्यूज ओके राष्ट्रिय साप्ताहिकले भन्सार एजेन्ट संघ रूपन्देहीसंग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो कुरा बताएका हुन् ।
उनिहरूले भन्सारलाई समयानुकुल तथा समयसापेक्ष बनाउनु पर्ने, सबै प्रणालीहरूलाई आधुनिक बनाई सेवाग्राहीको काम छिटो छरितो गर्नका लागी प्रबिधी मैत्री बनाउनु पर्नेमा समेत जोड दिए ।
भन्सार एजेन्ट संघ रूपन्देहीका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले भन्सारले गर्ने सामानहरूको मुल्याकंन पद्धती समयानुकुल हुनु पर्नेमा अहिले पनि उदाहरणका लागी सिंहदरबारमा बस्नेले लाउने महंगो जकेट र पहाडमा हलो जोत्नेले लगाउने सस्तो जकेटको मुल्याकंन एउटै हुने भएकाले बिभेद भएको जनाए । घिमिरेले अब समयानुकुल बस्तु वा सामानको बिलको आधारमा भन्सार मुल्यांकन हुनु पर्नेमा जोड दिए । ५ सय रूपैयाँको सामान र ५ हजार रूपैयाँको सामानको मुल्यांकन एकै हुन्छ, यस्तो हुनु भएन घिमिरेले भने । घिमिरेले खुल्ला सिमानाबाट हुने अबैध ब्यापार रोक्न जरूरी रहेको भन्दै अबैध ब्यापारले कालान्तरमा राजस्व संकलनमा प्रभाब पर्ने जनाए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष एबं भन्सार एजेन्ट बिष्णु प्रसाद शर्माले अहिलेको भन्सार प्रणाली पुरानो भन्दा केही आधुनिक भएको तर पूर्ण रूपमा आधुनिक भन्सार प्रणाली बनाई सेवाग्राहीको काम छिटो छरितो सम्पन्न गर्नेतर्फ ध्यान दिनु भन्सार प्रशासनको आबश्यकता रहेको जनाए । उनले राजस्व लक्ष्य पु¥याउने भन्दै आधुनिक प्रणाली अपनाउनेतर्फ कतै ढिलो भएको होकी भन्ने सबैलाई लागेको जनाए ।
एजेन्ट संघका पूर्ब अध्यक्ष प्राचिन थैबले खुल्ला सिमानाकाको फाईदा उठाउँदै हुने गरेको अबैध चोरी निकासी तस्करी नियन्त्रण गर्न जरूरी रहेको र यसले राजस्व प्रभाबित भएको मात्र नभई अबैध रूपमा मुद्राहरू बिदेशिने गरेकाले नियन्त्रणमामा जोड दिए । थैबले भन्सार बिभागले आउँदो श्रावण १ गते देखि आयात निर्यातमा लागु गर्ने भनेको एक्जीम कोड पद्धती जसरी पनि सुरू गर्नु पर्ने भन्दै यसले अबैध आयात निर्यात न्युनिकरण हुने दाबी गरे । एक्जीम कोडका लागी सबै पैठारी एबं आयातकर्ताहरूले २६ जनवरी बाट अनलाईनमा दर्ता गर्न सक्ने भएका छन् । थैबले भन्सार एजेन्टहरूलाई बिभिन्न आरोप लगाईने मुल्यांकन कम गराउने खालका दुखद कुरा सुन्नु पर्दा दुःख लाग्ने गरेको भन्दै क्लीयरींग एजेन्ट भनेको ब्यापारीले दिएको बिलबिजकको आधारमा जाँचपास गर्ने काम भएकाले गलत निराधार आरोप लगाउन नहुने भन्दै राष्ट्र प्रति आफुहरू जिम्मेवार र यो पेशा प्रति प्रतिबद्ध रहेको बताए ।
एक्जीम कोड लागु भएपछी २५ हजार सम्मको बस्तु या सामान आयात निर्यात गर्दा यो कोड लागु हुने ब्यबसायी तथा नेपाल भन्सार एजेन्ट संघका पूर्ब केन्द्रिय सदस्य अर्जुनदेब पौडेलले जनाए । एक्जीम कोडले ब्यबसाय अझै बैधानिक हुने भएकाले यो स्वागत योग्य रहेकोले जसरी भए पनि लागु हुनु पर्ने पौडेलको भनाई छ । एक्जीमकोड लागु हँुदा ब्यापारीलाई अप्ठेरो केही नपर्ने , १० लाख रूपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने र एक बर्ष भित्र निकासी पैठारी नगरे स्वतह खारेज हुने ब्यबस्था रहेकाले पनि छिटो भन्दा छिटो सुरूवात गर्नमा जोड पौडेलको थियो । भन्सार एजेन्टहरूले राजस्व संकलनमा सेतुको भुमिका निर्बाह गरेको भन्दै पौडेलले आफूहरू सबै नागरीक एबं सेवाग्राही प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाए ।
रूपन्देही भन्सार एजेन्ट संघका सचिब ओम प्रकाश गिरीले भन्सार प्रशासन पेपरलेस हुने भनिए पनि अहिले कुरामा मात्रै भइरहेको बताए । छिटो भन्दा छिटो पेपरलेस गराईनु पर्छ,यसले भन्सार प्रशासन, ब्यबसायी, सेवाग्राही सबैलाई फाइदा पुग्ने बताए । अहिले आधाकाम म्यानुअल र आधा कम्प्युटरकृत रहेको छ, सबै कम्प्युटरकृत भयो भने सबैलाई फाईदा हुन्छ, गिरीले भने ।
एजेन्ट संघका कोषाध्यक्ष हिरा लाल बरूणले माल बस्तु आयात गर्दा क्रस चेक गर्ने गरेको तर सबै पिस सामानहरू हेर्न संभब नभएको बताए । बिश्वासको आधारमा गरीने ब्यबसाय भएकाले कसै माथि संका गर्न नहुने उन्को तर्क छ । उनले यो भन्सारबाट श्रावण १ गतेबाट आसिकोडा पद्धती लागु हुने जानकारी आएको र यो सुरू भए पछी सबै सिष्टममा आउने जनाए । एकै गाडीमा एक हजार प्रकारका सामानहरू आउने गरेकाले जाचपासमा समस्या आउने गरेको पाईन्छ । आसिकोडा सिष्टम (सिंगल ईन्ट्री सिष्टम) लागु भए पछी सेवाग्राही ब्यबसायी र भन्सार कार्यालयलाई फाईदा हुने तर भन्सार एजेन्टले थप मिहिनेत गर्नु पर्ने हिरालालले बताए ।
न्यूज ओके राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन गृह पोर्ट मिडिया प्रालिका संचालक खेमराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार एजेन्ट समेत रहेका भुषालले विश्व भन्सार दिवसको अबसर पारेर यो कार्यक्रम आयोजना गरिएको भन्दै भन्सार सरलीकरण, सूचना प्रबिधी मैत्री, भन्सार प्रशासन चुस्त बनाई सेवाग्राहीलाई छिटो छरितो सेवा दिनु पर्ने बताए । उनले भन्सार एजेन्टहरूको जिम्मेवारी पनि बढ्दै गएको र गत बर्ष आन्दोलन र नाकाबन्दीका समयमा निकै सुझ बुझका साथ काम गर्दै योगदान दिएको जनाए । अन्तरक्रृया कार्यक्रमको संचालन सम्पादक मनोरञ्जन शर्माले गरेका थिए ।














