न्यूज ओके रिपोर्टर। भैरहवा १७ फागुन। साई ग्लोबल कलेज ‘बि’ भैरहवा र न्यू होराइजन कलेज बुटवल तेश्रो साई ग्लोबल टि–२० अन्तर कलेज क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भैरहवाको सिद्धार्थ रंगशालामा सम्पन्न पहिलो खेलमा साई ग्लोबलले भैरहवाको वृहस्पति कलेजलाई ६१ रनले तथा दोस्रो खेलमा न्यू होराइजनले सगरमाथा उच्च मावि देवदहलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
साई ग्लोबलले टस जितेर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै संदीप सुनारको सय र सुभाष कार्कीको १६ रनको मद्दतले १ सय ६५ रन बनाएको थियो । बलिङमा वृहस्पतिका तुलराम थापा र सुरज गौतमले २/२ विकेट लिए । प्रतिउत्तरमा १ सय ६६ रनको लक्ष्य पाएको वृहस्पतिले २० ओभरमा १ सय ४ रन बनाई पराजित भयो । वृहस्पतिका सन्देश शाक्य र प्रज्ज्वल थापाले समान २१/२१ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा खेल गुमाउन पुग्यो । वृहस्पतिलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द म्याच समेत रहेका संदीप सुनार र आकाश काफ्लेले समान ३/३ तथा सविन शाक्यले २ विकेट लिए ।
त्यस्तै दोस्रो खेलमा न्यू होराइजनले सगरमाथाबाट जितका लागि पाएको ८७ रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभर ४ बलमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्दै विजयी भयो । होराइजनको जितमा कुसल मल्ल र विशाल खत्रीले नटआउट क्रमशः ४१ र २५ रन बनाए । सगरमाथाका लागि रोशन गौतमले १ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको सगरमाथा न्यू होराइजनको बलरसामु टिक्न सकेन । उसले १९ ओभर ५ बलमा सबै विकेट गुमाई ८६ रन मात्र जोड्न सक्यो । सगरमाथाका लागि सुमन राजले २५, र सुरज दराईले २२ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । न्यू होराइजनका युवराज सेनले ५ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए । त्यस्तै गणेश गौडेल र कुसल मल्लले २/२ विकेट लिए ।
प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेल न्यू ईरा उच्च मावि भैरहवा र गृवार्ण सरस्वती उच्च मावि रुपन्देही तथा देस्रो खेल रुपन्देही लिलाराम उच्च मावि भैरहवा र लुम्बिनी ईन्जिनियरिङ केलज भलवारीबीच हुने खेल संयोजक ओम जैशीले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा केडिया अर्गनाईजेशनको उत्पादन ब्रिज सिमेन्ट रहेको छ भने सह–प्रायोजकका रुपमा बुद्ध अबोर्ड एजुकेशन कन्सलटेन्सी प्रालि र सुगम आवास निर्माण प्रालि छन् ।
प्रतियोगितामा बिजयी टिमले ट्रफी र ३९ हजार रुपैयाँ, उप बिजेता टिमले ट्रफी र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी म्यान अफ द सिरीजलाई ३ हजार ५ सय रुपैयाँ र ट्रफी, उत्कृष्ट ब्याटसम्यान र बलरलाई २ हजार रुपैयाँ र ट्रफी, उत्कृष्ट विकेट किपर र फिल्डरले १ हजार ५ सय रुपैयाँ र ट्रफी तथा प्रत्येक दिनको म्यान अफ द म्याच खेलाडीले १ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।













