काम सानो ठुलो हुदैन, मेहनत गरे सफल भईन्छ : ओमकार गौचन, (समाजसेबि,ब्यबसायी) भैरहवा

0
756

ओमकार गौचन (७४) रूपन्देही जिल्लाका लागि नौलो नाम होइन् । सामाजिक क्षेत्रमा छुट्टै प्रतिष्ठा बनाएका गौचन सिद्धार्थ उद्योग वाणिज्य संघ, लायन्स क्लब, बैदिक सनातन धर्म, थकालि सेवा समाज, बालसंगठन लगायत दर्जनौ संघ संस्थामा आबद्ध उनको भैरहवाको बैंकरोडमा न्यू गौचन फेन्सी हाउस करीब ४५ वर्ष देखि सञ्चालनमा छ । पछिल्लो समय भैरहवा मर्निङ्ग वाक ग्रुप (बिएमजी) का अध्यक्ष चयन भएका छन् । सामाजिक क्षेत्रसंगै लामो समय देखि ब्यवसायमा संलग्न गौचन कुनै पनि कामलाई ठुलो सानो नभनि लगनताका साथ लागेमा सफलता पाइने बताउँछन् । एक सफल सामाजिक व्यक्तित्व एबं व्यवसायीको परिचय बनाएका गौचनसंग सम्पादक मनोरञ्जन शर्माले गरेको कुराकानीमा आधारित रही तयार पारिएको सफलताको कथा उनकै भनाईमा प्रस्तुत गरिएको छ ।

मेरो जन्म वि.सं.२००० साल बैशाख २१ गते मुस्ताङ जिल्लाको जोमसोम बजारमा भएको हो । म परिवारमा माइलो छोरा हु । मेरो प्रारम्भिक शिक्षा जोमसोमकै जनज्योति माध्यमिक बिद्यालयमा भएको थियो । उक्त बिद्यालयमा तत्कालिन समयमा ७ कक्षासम्म मात्र पढाई हुने कारणले मैले पनि ७ कक्षा सम्म मात्र बढ्ने अबसर पाए । त्यसपछिको पढाई भने मैले विभिन्न कारणले गर्दा अबसर पाइन् । ७ कक्षासम्म पढेपछि म त्यसै जोमसोममै केही नगरी बसे । तीन वर्ष त्यसै बिताए । त्यति बेला आफन्ती पर्ने अनक मान शेरचन साल्ट ट्रेडिंग कर्पोरेशनको अध्यक्ष होकी महाप्रबन्धक (अहिले याद भएन) ले मुस्ताङ घर जानु भएको बेला के गरेका छौ,ओमकार ! भन्नुभयो । मैले पढ्न यहाँ स्कुल छैन, त्यसै हल्लेर बसेको छु भने । उहाँले तुरून्तै म संग भैरहवा हिड बिहान बेलुका पढौला दिउँसो काम गरौला भन्नु भयो । त्यसपछि म हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम छाडेर २०१८
पुस १९ गते भैरहवा उहाँ (अनक मान शेरचन) संग आए । भैरहवा त आए तर पढ्ने अबसर भने जुरेन । काम भनि  पाइयो । सिद्धार्थ राजमार्गको बेलहिया पोखरा अन्तरगत भैरहवा–झुम्सा खण्डको लागि स्टोरम्यानको जागिर गरे । सुरूको तलब १ सय रूपैयाँ प्रति महिना पाउँथे । तीन वर्षसम्म (२०२० साल) सडक निर्माणमा स्टोरम्यानका रूपमा काम गरे ।
त्यतिबेला नजिकको चिनेजानेको सुब्बा हितमानको बुटवलमा शेरचन ब्रदर्श भन्ने कपडाको पसल थियो र त्यसमा मेरो फुपाजु रूद्रबिलास तुलाचन मैनेजर हुनुहुन्थ्यो । उहाँ संगै उठबस हुन्थ्यो । पछि २०२१ सालमा सुब्बा हितमानले भैरहवाको मैत्रीपथमा (हालको पवन मिष्ठान्न भण्डार) शेरचन बस्त्रालय सञ्चालन गर्नु भयो । त्यसैमा काम सुरू गरे । काम गर्दै जाँदा सुब्बा हितमानले कपडा लिन बम्बई, सुरत लगायतका ठाउँमा जाँदा फुपाजु पनि संगै जानु हुन्थ्यो र मैले पनि संग संगै जाने अबसर पाउने गर्थे । २०२७ सालसम्म सुब्बा साबको कपडा पसलमा काम गर्दा मलाई धेरै कुराको ज्ञान भयो । भैरहवा झरेपछि गरेको नोकरीबाट आउने तलब बचत गरी मैले मेरो भाइ आफुले नोकरी गरी मैले भाइ कृष्ण बहादुर गौचनलाई इन्जिनियर सम्मको अध्धयन गराउन सफल भए । आफुले पढ्न नपाएता पनि घरका सदस्यलाई उच्च शिक्षा दिलाउन सफल भए । धेरै खुसी हुन्छु त्यतिबेलाको कुराहरू स्मरण हुदा ।    

त्यही क्रममा अहिले मेरो पसल भएको ठाउँमा २०२४ सालमा घर बनाउन सुरू गरे । तीन वर्षमा घर बनाएर सकियो । घर निर्माण सम्पन्न नहँुदै २०२६ सालमा पोखराकी लिला गौचन संग मेरो बिबाह भयो ।
२०२७ सालमा फुपाजुले २ लाख रूपैयाँ आर्थिक सहयोग गर्नुभयो । त्यही पैसाले अहिलेको बैंक रोडमा गौचन फेन्सी हाउसको नामबाट दशैंको समयमा कपडाको व्यवसाय सुरू गरे । त्यति बेलासम्म भैरहवामा १ दर्जनको हाराहारीमा कपडा पसलहरू थिए । बैंकरोड अहिलेको जस्तो थिएन् । अहिलेको राष्ट्रबैंक भएको स्थान खुल्ला चौर जस्तै थियो । सबै जना त्यहाँ बिहानै सौचका लागि जाने गर्थे ।                                                                                                                          मलाई अहिले पनि स्मरण छ, त्यतिबेलाको ब्यापार एकदम राम्रो थियो । दैनिक ७/८ हजार (भारू) सम्मको ब्यापार हुन्थ्यो । एक रूपैयाँ, दुई रूपैयाँ (भारू) मिटरको कपडा बेचिन्थ्यो । ४० को दशक सम्म ब्यापार राम्रो थियो । जब भारत सरकारले २०४५ सालमा नाकाबन्दी लगायो त्यसपछि भने यहाँको ब्यापार खस्कन थाल्यो । जुन अहिलेसम्म त्यस्तै छ । नाकाबन्दीका कारण उपभोक्ताहरू सामान खरिद गर्नका लागि सिमापारी सुनौली जाने क्रम त्यतिबेला देखि नै सुरू भयो । अहिलेसम्म रोकिन सकेन । हामीले हाम्रा उपभोक्ताहरूलाई संझाउन पनि सकेनौ । सरकारको नीति पनि त्यस्तो भएन् । अहिले मेरै फेन्सी पसल (कपडा)को कुरा गर्दा ग्राहक धेरै आउँछन् तर सबै जना साडी कपडाका लागि होइन् ।
ग्राहकहरू साडीहरू उता (सुनौली) किन्नु हुन्छ, यता (नेपालमा) साडीको फल्स, ब्लाउज र पेटिकोटका कपडा किन्नेको भिड यता हुन्छ, हाम्रा उपभोक्ताहरूले बुझ्नै सकेनन् । सुनौलीमा एकदम सस्तो पाइन्छ भन्छन् तर त्यही कपडा कर तिरेर भन्सार गरेर ल्याउँदा महगो पर्छ, हामीले भन्सार तिरेर ल्याउँदा महगो पर्ने कारण त्यही हो ।
हाम्रा उपभोक्ताहरू चनाखो हुनु परयो । भन्सार कार्यालयमा जुन नियम छ १ हजार रूपैयाँ सम्मको सामान खरिद गरेर ल्याउँदा भन्सार नलाग्ने नियम, यसमा अलि कडाई गरी संक्षिप्त प्रज्ञापन पत्र राम्ररी लागु गर्न सकेमा सरकारको राजस्व पनि बढ्ने र स्थानीय बजार पनि गुलजार हुने संभावना रहन्छ ।
सामाजिक संघ संस्थाको कुरा गर्दा म अहिले भैरहवा मर्निङ्ग वाकको अध्यक्षमा चयन भएको छु । सिद्धार्थ उद्योग वाणिज्य संघमा २०४७ सालमा कार्यसमिति सदस्य भएको थियो । त्यसपछि २०५६मा कोषाध्यक्ष, २०५८मा अध्यक्ष भए । २०६१ सालमा पश्चिमाञ्चल उद्योग वाणिज्य संघको अध्यक्ष समेत बने । मुनलाइट स्कुलको संस्थापक समेत हुँ ।
लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष समेत भए । बाल संगठन, रेडक्रस धेरै संघ संस्थामा रहेको छु । राजनीति मेरो चासो कहिल्यै बनेन् । समाजसेवामा जहिले पनि पछि लागे घरपरिवार पनि समाजसेवा भनेपछि उत्साहित हुन्छन् । अहिले ७४ वर्ष पुगे । यो उमेरमा पनि समाजसेवा र व्यवसाय गरेकै छु । व्यवसाय र घरपरिवारको कुरा गर्दा मेरो छोरा (सुधिर) छोरीहरू समि, सुशि र सुजा सबै बाहिर छन् । सुजा अष्ट्रेलियामा छिन र बाँकी सबै अमेरीकामा छन् ।
छोराछोरी सबै बाहिर भएकाले मलाई व्यवसायमा मेरो भतिजा (ठुलो दाई स्व.कृष्ण बहादुर गौचनको छोरा) बिकल गौचनले सघाइरहेका छन् । बिकलले नै सबै व्यवसाय हेर्दा मलाई समाजसेवा गर्न समय मिलेको छ । अब भैरहवा मर्निङ्ग वाक गु्रपबाट अभिभारा थपिदिनु भएको छ । यस भैरहवालाई बुद्धनगरी बनाउने प्रण गरेका छौं, घरघरमा बुद्धको झन्डा टाँग्ने अभियान सुरू छ यसलार्इ निरन्तर अब चैत्रबाट सबैभन्दा पहिला मेरै घर रंगयाउन सुरू गर्छु, भैरहवाको सबै घर एकै रंगको बनाउने जो कुरा भएको छ, त्यसको सुरूवात म आफैबाट गर्छु ।

अर्को कुरा हाम्रो देशमै धेरै संभावना छ, हिमाल, पहाड तराई जहाँ पनि संभावना युक्त छ, यहाँ नै धेरै अबसरहरू छन् । म सबैलाई हाम्रै देशमा केही गरौं  भनेर आग्रह गर्छु, मैले बिदेशमा रहेका छोराछोरीलाई पनि आप्नै देश फर्केर आउ भनि बारम्बार भन्ने गर्छु । तर सरकारले पनि नीतिहरू युवाहरूलाई लक्षित गरी रोजगार श्रृजना गर्ने खालको ल्याउनु पर्छ ।
म युबा भाइबहिनीहरू जे रोजगारीका लागि बाहिर जानुहुन्छ, उहाँहरूलाई के भन्न चाहन्छु भने काम भनेको ठुलो सानो हुदैन, मेहनत लगाव भयो भने सानो कामबाट पनि प्रगति उन्नती गर्न सकिन्छ, हाम्रै भैरहवामा शुन्यबाट शिखरमा पुगेको उदाहरण धेरै छन् । मिहिनेत गरे हाम्रै देशको धर्तिमा सुन फल्छ ।

Leave a Reply