मनोरञ्जन शर्मा। भैरहवा । गौतमबुद्ध बिमानस्थल स्तरोन्नती आयोजना भैरहवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम ढिलाई भएपछि निर्माण गर्दै आएको ठेकेदार चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन’का अध्यक्षलाई छलफलका लागि भैरहवा झिकाएको छ ।
पछिल्लो समय बिमानस्थल निर्माणको क्रम केही ढिलाई भएपछि निर्माण कम्पनीका अध्यक्षलाई छलफल गर्न पत्र पठाइसकेका छांै, पाँच मार्चमा परियोजना स्थलमै ठेकेदार कम्पनि, सरकारको प्रतिनिधि सहित छलफल गरिने छ, सरकारी तहबाटै पत्र काटेर पठाइएको छ, गौतमबुद्ध बिमनस्थल स्तरोन्नती आयोजनाका प्रमुख ओम शर्माले भने ।
आयोजनाको कार्यालयले यस अघि पनि निर्माणकार्यलाई दु्रतगति दिन भनि बारम्बार निर्माण कम्पनिलाई पत्राचार गर्दै आएकोमा अहिले अध्यक्षलाई नै झिकाएर छलफल गर्न लागेको हो । गत आइतबार काठमाण्डौंमा आयोजनाको मुख्य दातृ संस्था एसियाली विकास बैंक, अर्थ मन्त्रालय, नागरिक उड्डयन विभाग, आयोजनालगायतका निकायबीच भएको समिक्षा बैठकले तोकिएको समयभित्रै आयोजना सम्पन्न गराउन ठेकेदार कम्पनीलाई मार्चसम्ममा ३०, अप्रिलसम्म ३३, मेसम्म ३८ र जुनसम्म ४४ प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने गरी लक्ष्य निर्धारण गरेको छ ।
लक्ष्य अनुसार अब काम नगरे उक्त कम्पनि कारबाहीमै पर्न सक्नेछ । कामलाई तीब्रता दिएमा तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना कार्यालयको दाबी छ । तर अहिले ठेकेदार कम्पनिलाई आर्थिक अभाब भएको बुझिएको छ । कम्पनीले क्यास प्mलो गर्न नसक्दा काम अघि बढ्न नसकेको हो, परियोजना प्रमुख शर्माले भने । ठेकेदार कम्पनिले आफूले प्रयोगमा ल्याएका टिप्पर, स्क्याभेटर, डोजर लगायतका विभिन्न उपकरण, निर्माण सामग्री, इन्धनको भुक्तानी दिन नसक्दा सम्बन्धित धनीले आयोजनालाई फेरी उपकरण दिन मानेका छैनन् । ठेकेदार कम्पनीसँग सम्झौता गरेका विभिन्न पेटी ठेकेदार, आपूर्तिकर्ता, सहयोगीले पनि पैसा नपाएको बताउदै आएका छन् ।
ठेकेदार कम्पनीले अहिले सम्म आयोजनाको कार्यालयबाट कुल लागतको (६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रूपैयाँ) १५ प्रतिशत र बिभिन्न समयमा पेश गरेको बिलको आधारमा १ अर्ब ४० करोड भुक्तान लिईसकेको छ । उसले पेश गरेका ७ वटा बिल मध्ये ६ वटाको भुक्तान भइसकेको र बाँकी एउटा करिब १० करोड बराबरको भुक्तान एडिबी र ओएफआईडी मार्फत् हुने र त्यस्को पनि प्रकृया अगाडी बढीसकेकाले छिटै भुक्तान हुन्छ, तर कम्पनिले अहिले दु्रत गतिमा काम अघि बढाउन सकेको छैन, शर्माले भने ।
काम अघि बढाउन किन समस्या भएको बिषयमै छलफल गरिने र सकेसम्म यही कम्पनिबाटै निर्माण कार्य सम्पन्न होस् भन्ने चाहना परियोजनाको कार्यालयको रहेकाले अहिल नै यो कम्पनीले काम गर्न नसक्ने भयो भनि यसलाई हटाएर अर्को टेन्डर गर्ने मनस्थितिमा नबसी यसैलाई काम गर्न उत्साहित बनाउनु पर्नेमा शर्माले जोड दिए । यो कम्पनीले बिमानस्थल निर्माणका मुख्य दुखका कामहरू सम्पन्न गरिसकेको छ, कच्ची धावनमार्ग, खोला फर्काउने, टमिनल भवनहरूको सबबेसकाम (ग्राउन्ड वर्क) सकिसककोले अब सजिलो काम मात्रै छन, त्यसैले यसैलाई उत्साहित गराउनु पर्ने हुन्छ, उनले भने ।तर यो ठेकेदार कम्पनीसंग अहिले आर्थिक अभाब भएकै कारण जिल्ला विकास समितिले नदीजन्य बस्तु ढुंगा गिटी आयात गर्न दिन स्वीकृत र त्यो अनुसारको रोयल्टी समेत जम्मा गर्न सकेको छैन् ।
वर्षा अघि रनवेको सब बेसको सबै काम सकिए वर्षा पछि रनवेको बेस र पिच (कालोपत्रे) गर्ने काम सकिन्छ तर त्यसका लागि निर्माण कम्पनिले अहिले देखि नै तिनाउ खोलाबाट १ लाख घनमिटर बराबर रोडा ढुंगा परियोजना स्थलमा ल्याउन सक्नु पर्छ, त्यो सबै ल्याउन दैनिक ३ सय टिप्पर अहिलेबाटै परिचालन गर्नु पर्छ, त्यसका लागि नगद प्रबाह हुनु प¥यो, जति बढी काम भयो त्यति बढी रकम भुक्तान हुन्छ, हामीले कुनै पनि बिलको भुक्तानी रोक्दैनौ, काम अनुसारको बिलको भुक्तानी हुन्छ, पैसाको अभाब हामी संग छैन, आयोजना प्रमुख शर्माले भने ।
बिगतमा भएका समस्याहरू नदीजन्य बस्तु, बिद्युत् सबै हल भइसक्यो । बिमानस्थल क्षेत्रमा डेडिकेटेड फिडर निर्माणका लागि हामीलेनै करोड बिद्युत्मा भुक्तान गरिसकेका छांै, शर्माले भने । अहिले सम्म २८ प्रतिशत काम सम्पन्न भएको छ । तर एडिबीका अनुसार जम्मा २२ प्रतिशत काम भएको बताइन्छ । एडिबीले कामको भुक्तानका आधारमा काम सम्पन्न भएको प्रतिशत निर्धारण गर्छ । यस अघि नै निर्माण कम्पनिले विभिन्न कारण देखाउँदै बिमानस्थल निर्माण सम्पन्न हुने समय थप गर्न माग गरेपछि ६ महिनालाई समय सीमा बढाएर जुन १५ २०१८ सम्म सम्पन्न हुने बनाइएको थियो । थपिएको तिथीमा एक दुई महिना तल माथि होला तर अब रप्तारले काम भयो भने सकिन्छ, आशाबादी हँुदै शर्माले भने ।
अहिलेसम्म बिमानस्थलमा ३ किलोमिटर लामो धावनमार्ग निर्माण गरी सब ग्रेड गर्ने काम सम्पन्न भएको छ भने धावनमार्ग बनाउन मुख्य समस्याका रूपमा रहेको घाघरा नदी फर्काउने काम पनि सकिएको छ । खोला फर्काउन २ किलोमिटर ५ मिटर (२५ सय मिटर) नयाँ खोला बनाउनु परेको थियो । ३३ मिटर चौडाई र ६ मिटर गहिराई (पानीको सतह) रहेको छ । त्यस्तै गरी अन्तर्राष्ट्रिय टर्मिनल बिल्डिंगको सब बेसको काम सम्पन्न भइसकेको छ ।
२०७१ माघ १ गते (३१ डिसेम्बर २०१४) का दिन तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले बिमानस्थल निर्माण शिलान्यास गरेका थिए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरू भएको बिमानस्थल निर्माण कार्य चिनिया कम्पनि नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नु पर्ने गरी सहमती भएको थियो । नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रूपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
यही कम्पनीले निर्माणमा ढिलाई आलटाल गरेमा सरकारले नयाँ निर्माण कम्पनि चयन गर्न सक्नेछ । तर यसो भएमा निर्माण सम्पन्न हुन कम्तिमा पनि ५ वर्ष लाग्न सक्ने भएकाले यही कम्पनिबाट समयमै काम सम्पन्न गर्ने गरी छलफल गर्नु पर्ने सरोकारवालाहरू बताउँछन् ।
Home News and Events गौतमबुद्ध बिमानस्थल निर्माणमा ढिलाई,सरकार असन्तुष्ट , चिनियाँ कम्पनिका अध्यक्षलाई झिकाईयो













