सन् १९९५ मा ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेकोमा सन् २०१६ सम्ममा २१.६ प्रतिशमा झरेको छ । गरिबी शव्दको प्रयोग सर्वप्रथम नेपालमा कहिले र कहाँ गरियो भन्ने कुनै आधिकारीक दस्तावेज हालसम्म फेला पार्न सकिएको छैन । थुप्रै धार्मिक ग्रन्थहरूमा गरिबीका प्रसंगहरू उल्लेख भएको पाइन्छ ।
आज भन्दा करिव २६ सय वर्ष अगाडी महामानव भगवान गौतम बुद्धको सामु ‘म किन गरिब’ ? भनेर केही व्यक्तिहरूले प्रश्न गरेको कुरा बौद्ध साहित्यमा उल्लेख गरेको पाईन्छ । त्यस पछाडी गरिबी शव्दको प्रयोगले व्यापकता लिंदै आइरहेको छ ।
तर यहाँका सिमित १०–१२ वटा सहरहरूलाई छोडेर अलि पर गाउँ तिर लाग्ने वित्तिकै गरिबीको वास्तविक चित्रण हाम्रो आँखा अगाडी सग्बगाउन थाल्दछ । विगत देखि वर्तमानसम्म आईपुग्दा नेपालको राजनीतिक तथा समाजिक क्षेत्रमा जे जस्तो आन्दोलन, द्धन्द र परिवर्तनहरू भइरहेका छन् त्यसमा कुनै न कुनै रूपमा गरिबीको कारण समेत जोडिदैं आएको छ ।
गरिबी र पछौटेपन हाम्रो देशको प्रमुख शत्रु हुन् । गरिबी नामको साझा शत्रुलाई पराजित गर्नका लागि हामीसँग क्षमता र स्रोत दुवै छ । केवल हामीले आपसी समन्वय प्रगाढ र कार्यान्वयन सुढृण बनाउनुपर्छ । यसका लागि पूर्वाधार, सूचना, सञ्चार, प्रविधि लगायतका क्षेत्रमा आपसी सम्वन्ध विकास गर्दै मुलुकमा आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गर्नु पर्दछ । आत्मविश्वास र इच्छाशक्ति कुनै पनि देशको विकासका लागि चाहिने पहिलो शर्त हो । राजनीतिक नेतृत्वमा मात्र होइन आमजनतामा पनि आत्मविश्वास हुनु आवश्यक छ । आगामी दिनमा यस लक्ष्य प्राप्तिका लागि गरिबी न्यूनिकरणको निराशावादी शव्दावलीको सट्टा ‘समृद्ध नेपाल’को अभियान जस्ता वाक्य प्रयोग गर्न उपयूक्त हुने छ ।
लघुवित्त कार्यक्रममा बढ्दो आकर्षण
पछिल्लो समयमा गरिबी न्यूनिकरणको अचुक अस्त्रको रूपमा लघुवित्त कार्यक्रमलाई लिने गरिएको छ । लघुवित्त संस्थाहरूले लक्षित वर्गका सदस्यहरूलाई प्रायः जसो कर्जा विना धितो सामूहिक जमानीमा प्रदान गर्दछन् ।
नेपाल राष्ट्र बैंकको नीति अनुसार ‘घ’ वर्गका वित्तीय संस्थाहरूलाई विना धितो कर्जा रू.५ लाखसम्म र धितो कर्जा रू. १० लाखसम्म दिने व्यवस्था रहेको छ । धेरै जसो लघुकर्जा छोटो समयमा प्रतिफल दिने आयआर्जन व्यवसायमा लगानी भएको हुन्छ । देशको कानुनले दिएको र समाजले स्वीकार गर्ने जुनसुकै आय आर्जन परियोजनामा लघुवित्त संस्थाहरूले लगानी गर्छन् । धेरैजसो कर्जाहरू कृषितर्फ पशुपंक्षीपालन, माछापालन, बाली उत्पादन कर्जा आदि व्यवसायमा लगानी भएको छ भने सेवा व्यवसायतर्फ खुद्रा पसल, फेन्सी पसल, कस्मेटीक लगायत अन्य व्यवसायमा लगानी रहेको छ । केही मात्रामा परम्परागत घरेलु उद्योग व्यवसायमा पनि लगानी रहेको छ ।
पछिल्लो समय नेपालका लघुवित्त संस्थाहरूको अवस्था सुधारोन्मुख छ । मुलुकमा २०७३ असोज मसान्त सम्म ४४ वटा लघुवित्त संस्थाहरूले झण्डै १८ लाखभन्दा बढी ग्राहक सदस्यहरूलाई सेवा दिँदै आएका छन् । लघुवित्त बैंकहरूका शाखाहरू ७५ जिल्लामा पुगिसकेका छन् । लघुवित्त संस्थाहरूको ७७ अर्ब रूपैयाँ जति कर्जा लगानी रहेको छ भने २४ अर्ब रूपैयाँ जति ग्राहकहरूको बचत तथा निक्षेप संकलन रहेको छ । त्यसैले नेपालको आर्थिक विकासमा वित्तीय पहुँच अभिवृद्धि गरी गरिबी न्यूनिकरण गर्न लघुवित्त संस्थाहरूको योगदान महत्वपूर्ण रूपमा रहेको पाइन्छ ।
लघुवित्त संस्थाका चुनौतीहरू
लघुवित्त संस्थाहरूले झेल्नु परेका प्रमुख चुनैतीहरूमा लगानीका लागि दिगो पूँजीको अभाव, कठिन भौगोलिक अवस्था, परम्परागत सूचना प्रविधि, वित्तीय साक्षरतामा कमी, उच्च प्रशासनिक तथा संचालन लागत, राजनैतिक अस्थिरता, भौतिक पूर्वाधारको कमी, प्रविधिको न्यून प्रयोग, कर्जामा दोहोरोपना, अस्वस्थ प्रतिस्पर्धा, लगनशील र इमान्दार कर्मचारीको अभाव, आदि मुख्य रूपमा पर्दछन् । लघुवित्तमार्फत् मुलुुकको समृद्धि र आर्थिक विकास गर्नको लागि यस्ता समस्याहरूको न्यूनिकरण गर्न जरूरी छ ।
यसको समाधानका लागि नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई एक आपसमा गाभ्ने प्रक्रियामा लगेर लघुवित्त संस्थाहरूको संङ्ख्या घटाउनु पर्ने देखिन्छ । एउटा सानो पोखरीमा धेरैवटा डुङ्गा राख्दा आपसमा ठोकिएर डुबे जस्तै एकै ठाउँमा धेरै लघुवित्त संस्थाहरूलाई कार्यक्रम बिस्तारमा रोक लाउनुपर्छ जसको कारणले एकै व्यक्तिमा कर्जा लगानीको जोखीम कम हुनेछ र लघुवित्तको गुणस्तर कायम रहिरहने छ ।
सफल लघुवित्तका लागि उद्यमशीलताको विकास
गरिबी न्यूनिकरणका लागि लघु उद्यमको विकास हुन जरूरी छ । पहिलो यसले सानो आय भएका समूहहरूलाई कर्जा उपलब्ध गराएर उनीहरूको दिगो उत्थानका लागि उद्यमशीलताको विकास गराउनु पर्ने देखिन्छ । दोस्रो, साना उद्यमीको बजार पहुँच अर्को समस्याका रूपमा देखापरेको छ ।
यसको अभावमा आर्थिक पुनरूत्थान दिगो हुँदैन । अर्को महत्वपूर्ण कुरा साना ऋणीहरू साना व्यवसायमै सिमित रहँदा समाजमा आर्थिक असमानता बढेर जाने सम्भावना रहन्छ । उनीहरूलाई अनौपचारिक क्षेत्रबाट औपचारिक क्षेत्रमा र घरेलु उद्योगबाट साना र मझौंला उद्योगमा सर्न प्रोत्साहित गर्नुपर्छ । लघुवित्त कार्यक्रमले गरिब वर्गको सशक्तीकरण र उनीहरूको व्यवसायमा उद्यमशीलताको विकास कसरी हुनसक्छ भन्ने विषयमा गहन चिन्तन हुन जरूरी छ । अन्यथा कानुनी र नीतिगत प्रयासले मात्र उद्यमीहरू जन्मन र विकास हुन सक्दैनन् ।
प्रविधी मैत्री लघुवित्त आजको आवश्यकत्ता
खेलमा सधैं एउटै रणनीति अपनाइरहने हो भने एउटा अब्वल टिमलाई अर्को कमजोर टिमले हराई दिन सक्दछ । त्यसकारण विभिन्न संघ संस्थाहरूमा पनि समय समयमा रणनीति परिवर्तन गर्नु जरूरी हुन्छ । किनकी नीति नियम भन्दा रणनीति बढी व्यवहारीक र वातावरण अनुकुल हुन्छ । आजको तीव्र प्रतिस्प्रर्धात्मक वातावरणमा संगठनको सफलताका लागि प्रतिस्प्रर्धीहरूलाई उछिनेर अगाडि बढ्नका लागि नयाँ–नयाँ रणनीति तयार पार्नु पर्दछ ।
वर्तमान समयमा त्यो नयाँ रणनीति भनेको प्रविधी मैत्री लघुवित्त संस्थाको संचालन हो । विश्व २१ औं शताव्दी सूचना तथा सञ्चारको यूगमा काम कारवाहीलाई छिटो, छरितो, व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउन आधुनिक प्रणालीलाई सञ्चालन गर्न जरूरीे छ । त्यसकारण परम्परागत रूपमा भन्दा प्रविधी मैत्रीरूपमा लघुवित्त संस्थाको संचालन वर्तमान समयको तिव्र माग हो ।
उपसंहार
लघुवित्त संस्थाहरूको कारोवार अत्यान्त सरल भए पनि यसको कुशल संचालन गर्नु अत्यान्त कठिन कार्य हो । त्यसैले लघुवित्तको कार्यक्षेत्रमा काम गर्नु भनेको कुनै उपाधी जित्नु, ओलम्पिक खेलजित्नु, मदनपुरश्कार पाउनु, परिक्षामा पासहुनु, निर्वाचित भएर फूलमाला खादा लगाउनु जस्तो कार्य होइन । एक चोटि सगरमाथा चढेर किर्तिमान राखेजस्तो हुँदैन लघुवित्तको कारोवार । यो त निरन्तर चलिरहने कार्य हो ।
यसको सफलताका लागि ग्रामीण दुर दराजका बस्तीहरूसम्म निरन्तर पुग्न बुद्धि विवेक, कठिन श्रम र पसिना बगाउनु पर्दछ । विपन्न वर्गका परिवारहरूको बीचमा विश्वास, आस्था र स्वभिमानलाई कायम राख्दै लघुवित्त कार्यक्रमलाई सफल बनाउन निरन्तर खट्नु पर्दछ ।
जुन काम निरन्तर रूपमा गर्नु भनेको कुनै पनि उपाधी जित्नु वा मदन पुरश्कार प्राप्तगर्नु भन्दा कम महत्वपूर्ण छैन ।संक्षेपमा भन्ने हो भने गरिबी न्यूनिकरण र लघुवित्तको सम्बन्ध अत्यन्त गहिरो रूपमा रहेको छ । गरिब मुलुकको अनिवार्य आवश्यकत्ता लघुवित्त सेवाको निरन्तरता हो भन्ने कुरामा धेरैको विमति रहेको पाईदैन । त्यसैले सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गरी समवृद्ध अर्थतन्त्रमा फड्को मार्न गरिबी जहाँ जे जस्तो अवस्थामा भए पनि यसलाई पराजय गर्नु आजको प्रमुख आवश्यकत्ता हो ।
लेखक ग्रामिण बिकाश बैंक केन्द्रिय कार्यालय बुटवलका अधिकृत हुन् ।












