विषादीको अनियन्त्रित प्रयोगले जनस्वास्थ्यमा असर, सम्बन्धित निकायहरू भने मौन

0
74

भुवन पाण्डे।भैरहवा । तरकारी उत्पादनका हिसावले अगाडि रहेको रूपन्देहीमा तरकारी उत्पादनसंगै त्यसमा विषादी प्रयोगको मात्रा पनि बढ्दै गएको छ । विषादीको अनियन्त्रीत प्रयोगले जनस्वास्थ्य र माटो प्रभावित हँुदा पनि रोकथाममा भने कसैको चासो छैन ।

रूपन्देहीको ४ हजार १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यवसायिक तरकारी खेती हुने गरेको छ । यसबाट वार्षिक ९० हजार ९ सय ९१ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । तरकारी उत्पादनमा पकेट क्षेत्रकै किसानलाई समेत विषादीको प्रयोग र प्रयोगपछिको उपयोगका बारेमा जानाकारी छैन । अज्ञानता र धेरै उत्पादन हुने लोभले किसानले अनियन्त्रीत रूपमा विषदीको प्रयोग गरेका छन् । रूपन्देही सूर्यपुराका व्यवसायिक किसान लाल बहादुर केवटका अनुसार पहिले पहिले रासायनिक बिषादी प्रयोग नगरी आफूहरूले तरकारी खेती गर्ने गरेको बताए ।

तर अहिले बिषादी नराखी तरकारी उत्पादन नै हुँदैन, बिषादी प्रयोग नगरे सबै तरकारी किराले नष्ट गर्ने उनले बताए । रूपन्देहीका अधिकांश किसानहरूलाई बिषादीको प्रयोग बारे कुनै जानकारी नै छैन । किसानहरू धेरै उत्पादन लिने लोभमा अत्याधिक मात्रामा अनियन्त्रीत रूपले बिषादी प्रयोग गर्ने गरेका छ । किसानहरूले बिषदी प्रयोग गर्दा सावधानी पनि अपनाउँदैनन् ।

जसले गर्दा किसानहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेको छ । व्यवसायिक तरकारी खेती गर्ने किसानहरू पनि बिषदी प्रयोग बारे जानकारी भएपनि त्यो लागु गर्दैनन् जसले गर्दा माटोको उर्वरा शक्ति घट्दै गएको छ । रासायनिक विषादीको बिकल्पमा जैविक बिषादी प्रयोग गर्न सकिन्छ तर अगुवा किसानहरू नै जैविक बिषादी बारे अनविज्ञ छन् । रासायनिक विषादीको प्रयोगले माटोमा क्षारीयपन बढिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयले किसानहरूलाई जैविक विषादीबारे जनचेतना बढाई यसको प्रयोग बढाउनु पर्ने रूपन्देही वर्गदैयाका अगुवा किसान पन्नेलाल केवटले बताए । माटोको दिगो पन बढाउन पनि रासायनिक विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने केवटले बताए । विषादीको गुण अनुसार प्रयोग गरेको एक हप्तादेखि महिना दिनसम्म सो फसल प्रयोग गर्नु हुदैन ।

अनुगमन र नियन्त्रण नहुँदा यसबारेमा धेरै किसानले बेवस्था गरेका छन् । निर्भाहमुखी खेती गर्ने किसानहरू बिषादी प्रयोगबारे सचेत छन् तर जिल्लाका पकेट क्षेत्रहरूमा बिषादीका माफदण्ड, पर्खन पर्ने अवधि, बिषादीको प्रयोग गर्ने मात्रा, दर, अलि बढि हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले बताए । बुटवलमा रहेको कृषि उपज थोक बजार केन्द्रमा गरिएको बिषादी परीक्षणमा केही उपजहरूमा बिषादी प्रयोग सीमा भन्दा माथि देखिएको छ । तर त्यस्तो चिन्ताजनक अवस्था नरहेको वरिष्ठ कृषि अधिकृत सापकोटाले बताए ।

रूपन्देहीमा दैनिक एक करोड बराबरको कारोवार हुने बुटवल कृषि उपज तरकारी तथा फलफूल थोक बजार केन्द्र र दैनिक ३० लाख बराबरको कारोबार हुने मायादेवी तरकारी तथा फलफुल बजार भैरहवामा छ । यी बजारमा आउने तरकारी तथा फलफूलमा समेत विषादी मापन गरिएको छैन । विषादी मापन गर्ने व्यवस्था नहुँदा उपभोत्ताहरू अत्याधिक बिषादी प्रयोग गरेको तरकारी खान बाध्य छन् ।
त्यसो त बेलहिया नाकाबाट भारतीय तरकारी दैनिक भित्रिने गरेको छ । खाद्यान्य र तरकारीको जाँच गर्ने प्लान्ट क्वारेन्टाइनले आँखाले हेरेको भरमा क्वारेन्टाइन पास गर्ने गरेको छ । ती खाद्यान्य तरकारीमा कति मात्रामा बिषादी प्रयोग गरिएको छ भन्नेबारे जाँच पास गर्ने जिम्मा लिएको क्वारेन्टाइनलाई पनि जानकारी छैन ।

Leave a Reply