मनोरञ्जन शर्मा
भैरहवा ।
दशैँ आउनु पूर्व नै नेपालको सबै सिमावर्ति भारतिय बजारहरूमा नेपाली उपभोक्ताहरूको घुइँचो लाग्ने गरेको छ । विशेष गरी सिमा क्षेत्रमा रहेका नेपालका ठुला शहरहरूसँग जोडिएका सुनौली, रक्सौल, जोगगबनी, रूपौडिया, पानी टंकी लगायतका भारतीय बजारहरूमा अहिले दिनहु हजारौ नेपाली उपभोक्ताहरू दशैँका लागि भन्दै जाने गररेका छन् । चिनी र केही लत्ताकपडा बाहेक अन्य सामानहरू भारतीय प्रिन्ट रेटमै नेपालमा पाइने भए पनि दिनहु खरिदारीका लागि भारत जानेहरूको घुइँचो बढेको हो ।
दशैँ तिहार जस्ता पर्वमा मात्र सामान्य खरिदारीमा अर्बौ रूपैयाँ भारतिने गरेको पाइएको छ । अहिले भैरहवा, बिरगन्ज,बिराटनगर, नेपालगन्ज जस्ता ठुला शहरसँग जोडिएका भारतीय सिमावर्ति शहरहरूमा दैनिक २० करोड भन्दा बढीको फुटकर व्यापार हुने गरेको अनुमान छ ।
यसैले पनि दशैँ पर्व नेपालीको भए पनि व्यापारमा भने भारतीयहरूको लागि वास्तविक रूपमा दशैँ आउने गरेको छ । सिमावर्ती भारतीय बजार मा नेपाली उपभोक्ताको घँुइचो लागिरहँदा नेपालका बजारहरूमा भने खासै चहल पहल देखिदैँन । नेपाली उपभोक्ताहरू सिमावर्ति बजारमा दैनिक उपभोग्य सामान, चिनी, लत्ताकपडा ,तेल, बनस्पती घिउ लगायतका सामग्री खरीद गर्न अत्यधिक रूपमा पुग्ने गरेका छन् ।
चाडपर्वका बेलामा मात्रै अर्बो रूपैयाँको खुद्रा व्यापार नेपालीले भारतमा गर्ने भए पनि त्यसबाट नेपाल सरकारले भने कुनै लाभ लिन सकेको छैन् । भन्सार कार्यालयले १ हजार रूपैयाँ भन्दा बढीको सामान खरीद गरी ल्याएमा संक्षिप्त प्रज्ञापन लगाउने निर्णय छ तर राम्रो सँग कार्यान्वयन नहँदा राज्यले फाइदा लिन सकेको छैन भने कर नतिरी आयात गरिने सामानहरू सस्तोमा पाइयो भन्दै सामान लिएर आउनेहरू बढेका बढ्यै भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले बताए । हाम्रा उपभोक्ता जागरूक नहँदा र वारी र पारी पाइने सामानको मुल्य गुणस्तरको तुलना गर्न नसक्दा खरिदारीका लागि धेरै भारतिने गरेका छन् । यसमा राज्यको नीति पनि कमजोर देखिन्छ, अध्यक्ष शर्माले भने ।
सिमावर्ति सुनौली बजारका ओम किराना स्टोर्शका प्रोपोराईटर भन्छन्, अहिले दशैँका लागि पखरिद गर्न आउने नेपालीहरूको चाप अत्यधिक बढी छ । अझ बिदाको दिनमा झन भिड हुन्छ । नेपालमा भन्दा सामान सस्तो पाइने भन्दै गएको तर धेरै भिडभाडले गर्दा भने जस्तो सामान खरीदका लागि छनौट गर्नै नपाएको नेपाली गृहिणी अर्चना मल्लले बताइन् ।महिलाहरू सारी, कुर्ता लगायतका सामान खरीदका लागि अधिक आउने गरेको श्याम बस्त्रालयका श्यामले उल्लेख गरे ।
सुनौली बजारमा खरिदारी गर्न रूपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामिण क्षेत्रका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँचीका उपभोक्ता समेत आउने गरेका छन् ।
नेपालीहरूका लागि सुनौली बजारमा सबैभन्दा सस्तो खाद्य पदार्थ चिनी रहेको छ । सुनौलीमा प्रति के.जी. अहिले ६७ रूपैयाँमा पाइन्छ भने रूपन्देहीमा ७९ रूपैयाँमा साल्ट ट्रेडिंगले बिक्री गर्दै आएको कार्यालयका क्षेत्रिय प्रबन्धक हरिचन्द्र श्रेष्ठले बताए । भारतीय चिनी भन्दा हामीले बिक्री गर्ने चिनी राम्रो छ । कर तिरेर ल्याउने हो भने नेपालमै सस्तो पर्छ उनले भने ।
सिमावर्ति बजारमा चिनी र कपडाहरू केही सस्तो भए पनि अन्य सामानहरूको मुल्यमा नेपाल र भारतीय बजारमा खासै फरक नरहेको तर पनि नेपालीहरू त्यतै धाउने गरेको नेपाली व्यवसायी बताउँछन् ।
उपभोक्तामा चेतनाको अभाव छ, सचेत छैनन् सस्तो पाइने भन्दै अखाद्य, गुणस्तरहीन सामान किन्दा समेत उपभोक्ताहरूले थाहा पाउँदैनन्, गृहणी तथा शान्ता जिसीले भनिन् । उपभोक्ताहरूले सस्तोको नाममा अखाद्य तथा ओरीजिनल भन्दै स्थानीय स्तरमै निर्मित र लेबलिंग गरेका सामग्री खरीद गर्ने गरेका छन् । सुनौलीका बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरू तेल, वनस्पति घिउ गुणस्तरहिन हुने गरेको बताइए ता पनि २।४ रूपैयाँको लोभमा उपभोक्ताहरूले खरीद गर्ने गरेका छन् । त्यस्ता तेल र घिउबाट बनाइएका पकाइएका खाद्य वस्तु खाँदा जन्डीस जस्ता रोगले समात्ने चिकित्सकहरूको भनाई छ ।
उपभोक्ताहरू जागरूक नहँदा र चेतनामा अभिबृद्धि नहँदा सम्म भारतीय बजारमा भन्दा नेपाली बजारमा सामानहरू सस्तो पाइए पनि उपभोक्ता सिमापारी नै ओइरीने छन् ।
सुनौली बजारमा भन्दा धेरै सामग्रीहरू भैरहवामै सस्तो पाइन्छ , तर पनि उपभोक्ता उतै जान्छन् , कर भ्याट नतिरे पछि जे सामान ल्याए पनि सस्तो भै हाँल्ने सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं गौचन फेन्सी बैंक रोडका का सञ्चालक ओमकार गौचनले भने ।
जनचेतनाको अभाबले सस्तो पाइने भन्दै दशैँका बेला मात्रै अर्बौ रूपैयाँ सामान्य खरिदारीका नाममा भारतिने गरेको छ । यसले पक्कै पनि नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँदैन ।













