न्यूज ओके रिपोर्टर, भैरहवा
प्रदेश नम्बर ५ पर्यटन, कृषि, उद्योग, ब्यापार लगायतका क्षेत्रमा अब्बल रहे पनि विद्युत् उत्पादन (उर्जा)मा भने अन्य प्रदेशभन्दा कमजोर पाइएको छ । ऊर्जा उत्पादनमा प्रदेश २ भन्दा माथि यो प्रदेशको स्थान छ । प्रदेश २ मा कुनै पनि विद्युत् आयोजना छैनन् । प्रदेश ५ मा परासीको गण्डक विद्युत् आयोजना, प्युठानको झिमरूक जलविद्युत् आयोजना, गुल्मीको माथिल्लो हुग्दी जलविद्युत् आयोजना, रूरू जलविद्युत् आयोजना र बुटवलको तिनाउ जलविद्युत् आयोजना मात्रै छन् ।
गण्डकको क्षमता १५ मेगावाट, झिमरूकको १२ र माथिल्लो हुग्दीको ५, रूरूको २.४, तिनाउको १ मेगावाट छ । तीनैवटा आयोजनाबाट जम्मा ३५.५ मेगावाट विद्युत् निस्कने सामथ्र्य भए पनि गण्डक र तिनाउमा बारम्बार समस्या आउने गर्दा क्षमता अनुसारको उत्पादन भएको पाइँदैन । यी तीन विद्युत् योजनाबाहेक प्रदेशका अन्य जिल्लामा कुनै पनि ठूला विद्युत् आयोजना सञ्चालनमा छैनन् । प्रदेशमा रहेको परासी, गुल्मी, प्युठान र रूपन्देहीका बिद्युत् आयोजनाले अहिले क्षमता भन्दा न्यून बिद्युत् उत्पादन गरिरहेका छन् ।
प्रदेशका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रूकुम पूर्ब, दाङमा समेत विद्युत् उत्पादन गर्न सकिने खोला तथा नदी भए तापति त्यहाँ कुनै सम्भाब्यता अध्ययन हुन सकेको छैन । प्रदेश ५ का प्रदेशसभा सचिव डा. मानबहादुर विक ऊर्जा उत्पादनमा सबैभन्दा कमजोर अवस्थामा यो प्रदेश रहेको बताउँछन् ।
‘अन्य क्षेत्रमा धेरै राम्रो भए तापनि ऊर्जामा यो क्षेत्र पछाडि छ’, सचिव डा. विकले भने– ‘संभाब्यता धेरै छन्, यहाँ थप विद्युत् उत्पादन हुन सक्ने नदी खोला धेरै छन्, त्यसैले विद्युत् उत्पादनका लागि यस प्रदेशमा अध्ययन हुन जरूरी छ,’ उनले भने । दुई मेगावाट क्षमताको अर्घाखाँचीको नौमुरे विद्युत् आयोजना अहिलेसम्म सुरू हुनसकेको छैन । यसको विस्तृत परियोजना प्रतिवेदन तयार समेत भएको थियो ।
उता यो प्रदेशमा लघुजलविद्युत् आयोजना भने धेरै छन् । गुल्मी, पाल्पालगायतका पहाडी जिल्लामा लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । पाल्पामा मात्रै ४२ वटा लघुजलविद्युत् आयोजना छन् । त्यसबाट दैनिक ८ सय ५२ किलोवाट विद्युत् उत्पादन भइरहेको ग्रामीण आर्थिक विकाश संघ रेडा पाल्पाका निर्देशक लिला कार्की बताउँछन् ।
त्यसैगरी गुल्मीमा २७ वटा लघुजलविद्युत्बाट ७ सय किलोवाट विद्युत् उत्पादन भइरहेको कार्कीले जनाए । रेडाले पाल्पा, गुल्मीलगायतका पहाडी जिल्लामा लघुजलविद्युन्सम्म काम गर्दै आएको थियो । गुल्मीको दरामखोला लघुजलविद्युत् आयोजनालाई स्तरोन्नति गरी ३ देखि ५ मेगावाट क्षमतासम्मको बनाउने तयारी गरिरहेका छन् । उता पाल्पाको निस्दीखोलामा सय किलोवाट र वाकामलाममा ४२ किलोवाटका लघुजलविद्युत् आयोजनाको काम भइरहेको छ । ग्रामीण क्षेत्रमा स्थानीय खोलानालाको प्रयोग गरी लघुजलविद्युत् आयोजनाबाट ऊर्जा निकाल्ने काम भइरहेको छ ।
प्रदेश ५ जलविद्युत् उत्पादनमा अन्य क्षेत्रभन्दा पछाडि रहे पनि यहाँको नदीखोलाबाट ठूला साना गरी दुई मेगावाटभन्दा बढी विद्युत् निकाल्न सकिने देखिन्छ । हालै मात्र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदेश ५ मा रहेका सबै जिल्लामा लघुजलविद्युत्, सौर्य ऊर्जा लिफ्ट खानेपानी, साना सिँचाइ आयोजना र सुधारिएको चुल्हो क्षेत्रमा काम गर्न प्राविधिक सहयोगका रूपमा ग्रामीण आर्थिक विकाश संघ रेडा पाल्पालाई जिम्मेवारी दिएको छ । ‘प्रदेश पाँचको सबै जिल्लामा लघुजलविद्युत् आयोजनाको अध्ययन गर्छौ र छिट्टै लघुजलविद्युत् विकासमा लाग्छौ’, रेडाका निर्देशक कार्कीले भने ।
लघुजलविद्युत्मा सरकारले प्रतिकिलोवाट १ लाख ५० हजारदेखि २ लाखसम्म अनुदान दिने गरेको छ । ५० किलोवाट तलको लघुजलविद्युत् निर्माणका लागि प्रतिकिलोवाट ३ लाखर ५० वाट माथिकामा सवा २ लाख रूपैयाँसम्म प्रतिकिलोवाट खर्च आउँछ । लघुजलविद्युत् र अन्य ठूला जलविद्युत् आयोजना सम्भव भएकाले भविश्यमा अझ बढी मात्रामा विद्युत् यहाँ उत्पादन हुनसक्ने देखिन्छ । तर हालका लागि भने प्रदेश पाँच विद्युत् उत्पादनमा सबैभन्दा कमजोर अवस्थामा छ ।
(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)








