मधुसुदन पोखरेल / भैरहवा
तिहार दशैंको पन्ध्र दिनपछि आउने एउटा महत्व पूर्ण पर्व हो । हिन्दु धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धुमधाम सित मनाउँछन् । हिन्दु धर्मशास्त्रको पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा गई बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने साथै दिदी भाइ, दाजु बहिनीको प्रेम सदा अटल रहोस र दाजु भाइको आयु, कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपुजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको हुँदा प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।
यो पर्व कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्र्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । तिहारले एकातिर मानव तथा पशुपंक्षिबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई छर्लङ्ग पार्दछ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपुजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुर आज्ञापालक र रक्षक मात्र नभएर विभिन्न अपराधीहरू पत्ता लगाउने तथा अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर, डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्व सूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाई पुजा गरी माला लगाइन्छ ।
गाई तिहार र लक्ष्मी पुजा
कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा पवित्र तुल्याउने हिन्दुहरूको संस्कार रहेकोछ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दु धर्ममा गाईलाई लक्ष्मी र गौमाताका रूपमा मानिन्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यान्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर—घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपुजा पनि गरिन्छ । यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन रहेको छ ।
सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पुजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरी शुभलाभ लेख्ने धार्मिक परम्परा रहेको छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख,सन्तोष प्रदान गर भन्ने यो दिन भैलो खेलेर रमाइलो समेत गरिन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपुजाको रातलाई सुखरात्रि भनिन्छ ।
गोरू तिहार
गोरू तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन र सबैजना त्यसै गर्न राजी हुन्छन र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँछन र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पुजा गरिन्छ साथै गोरूको समेत पुजा गरिन्छ ।
भाइ टीका
तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पुजाआजा गर्ने, मेवा, मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान, दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपुजा गरेको धार्मिक महत्व छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । दिदी बहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान, सुपारी, फूल आदि दिने चलन ।
भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पुजा गर्नुपर्छ । यमराज, हनुमान, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्दछन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दुबो तथा सयपत्रीको माला, रोटी, मीठा, मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पुजा गरिन्छ । त्यसपछि दाजु भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पुजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दुबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दुबो सधै हरियै रहन्छ ।
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो रंगको सप्तरंगी टीका लगाइदिन्छन । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले तुलसीको मठ तथा रानी पोखरी स्थित मन्दिरमा पुजाआजा गरी टिका लगाउने प्रचलन समेत रहेको छ ।
अन्त्यमाः
तिहार पर्व आरूनो आर्थिक क्षमता, सामाजिक संस्कार र शारिरिक स्वास्थ्लाई ख्याल गर्दै मनाउनु पर्दछ । सरकारबाट सामाजिक शान्ति सुरक्षा, अमन चयन कायम गर्न दिएका निर्देशनहरूको पालना गर्नु हामी सबैको कर्तब्य ठहर्दछ । वर्ष दिनमा एकपटक आउने पर्व त हो नि भन्दै कौडा, जुवा, तास मध्य र मांसको अधिक सेवन गर्नु हुँदैन । अनावश्यक तडक भडक र देखावटीका कारण आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा असर पुग्ने गरी नभई पवित्र उल्लासका साथ आरूनो क्षमता र गच्छे अनुसार तिहार पर्व मनाइ सुख,शान्ति, धनधान्य र स्वस्थ्य लाभ गरी आपसि सम्बन्धलाई अझ सुमधुर बनाऔं भन्ने शुभकामना दिन चाहन्छु ।
sudan392@gmail.com














