मनोरञ्जन शर्मा : सेक्स टुरिजम (यौन पर्यटन) का लागि भनेर ख्याती कमाएको सेतो हात्तीको देश भनेर चिनिने थाइल्याण्डले त्यहाँ आउने पर्यटकहरूलाई भुलाउन अब सेक्स संगै अन्य धेरै कुराहरू उपलब्ध गराएको छ । त्यसैले अब विगतमा भनिए जस्तो थाइल्याण्ड सेक्स टुरिजम मात्रैमा सीमित भने भएन । निश्चय पनि केही बर्ष अघिसम्म थाइल्याण्ड भ्रमण गर्न जाँदा छ्या पक्कै पनि सेक्सका लागि गयो भन्नेहरू अब परिवारसहित भ्रमण गर्न थालेका छन् ।
त्यहाँ पुग्ने पर्यटकहरूका लागि एक से एक भुलाउने चिज, पैसा खर्च गराई बसाई अबधी बढाउने ठाउँहरूमा पूर्बाधार निर्माण, बिकास सबै चिजले पूर्ण बनाइए पछि बास्तबमै थाइल्याण्ड अमेजिङ बनेको छ भने पछिल्लो दश बर्षमा पर्यटन क्षेत्रमा निकै फड्को मारेको छ, थाइल्याण्ड । विश्व बैंकको २०१४ को तथ्यांक अनुसार कुल जिडिपीमा १९ दशमलव ३ प्रतिशत पर्यटन क्षेत्रको सहयोग रहेको छ । अर्थात् २ दशमलब ३ ट्रिलियन भाट (एक भाट बराबर ३ रूपैयाँ १० पैसा नेपाली रूपैयाँ) पर्यटन क्षेत्रबाट आउँदो रहेछ ।
६ करोड ८३ लाख भन्दा बढी जनसंख्या रहेको थाइल्याण्डमा अघिल्लो बर्ष २०१६ मा करिब ३ करोड ३० लाख भन्दा बढी पर्यटकहरू भ्रमणका लागि त्यहाँ पुगेका थिए भने बर्ष २०१७ मा थाइल्याण्ड भ्रमण गर्ने बिदेशी पर्यटकहरूको संख्या करिब तीन करोड ५० लाख बढी रहेका छन् । थाइल्याण्ड भ्रमणमा सबै भन्दा बढी चिनियाँ पर्यटकहरू पुग्ने गरेका छन् ।

पछिल्लो समय खर्चालु पर्यटकका रूपमा नाम कमाएका चिनियाँहरू मध्ये २०१७ मा १ करोडको हाराहारीमा थाइल्याण्ड भ्रमण गरेका छन् । चिनियाँ पछि सिमाना जोडिएको देश मलेशियाबाट ३५ लाख बढी पर्यटक त्यहाँ पुगे । थाई पर्यटनको मज्जा लिन बार्षिक १२ लाख भन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेको थाई टुरिजम अथोरिटीले जनाएको छ । पर्यटकका लागि आबश्यक सबै पूर्बाधारहरू त्यहाँ रहेको र एशियाको १० औं सस्तो देश थाइल्याण्ड (पर्यटनका लागि) रहेकाले पनि पर्यटकहरू त्यहाँ ओइरिएका हुन् । थाइल्याण्ड पुग्ने पर्यटकले औसतमा त्यहाँ दैनिक न्यूनतम ५ हजार भाट खर्चने गरेका छन् । पर्यटकहरूलाई बिहान उठ्ने बित्तिकै राती सुत्ने बेलासम्म भुलाउने सबै पर्यटकीय आकर्षणहरू त्यहाँ रहेका छन् ।
नेपालीको पनि आकर्षण बन्दै थाइल्याण्ड
जनसंख्याको करिब ९० प्रतिशत बुद्ध धर्म मान्ने थाइल्याण्ड पछिल्लो समय नेपालीहरूको लागि पनि भ्रमण गर्न गन्तब्य गर्न एक नम्बरको सूचिमा परेको छ । नेपाली पर्यटन ब्यबसायीहरूले निकै सस्तो रकममा त्यहाँका लागि प्याकेजहरू बनाउन थालेपछि त्यहाँ भ्रमण गर्न जाने नेपालीहरू बढी रहेका छन् । अहिले कम्तिमा ४० हजार रूपैयाँको ४ रात पाँच दिनसम्मको प्याकेज देखि दिन अनुसारको प्याकेज बनाउने गरेको बैंककमा रहेका पर्यटन ब्यबसायी तथा ललित मण्डप ट्राभल एजेन्सीका प्रबन्ध निर्देशक सुरज शाक्य बताउँछन् । 
नेपालमा दर्जनौ ट्राभल एजेन्सीहरूले अहिले थाइल्याण्डमा प्याकेज टुर मार्फत् सस्तो दरमा न्युनतम ५ दिन पाँच ४ रातका लागि पर्यटकहरू पठाउने गरेको र जिल्लामा रहेको बिभिन्न ट्राभल एजेन्सीहरूले पनि त्यहाँ पर्यटकहरूलाई प्याकेजमा पठाउन थालेको नेपाः ट्राभल्स भैरहवाका प्रबन्ध निर्देशक सञ्जय बजिमय बताउँछन् । सस्तो प्याकेजमा बिश्वकै उत्कृष्ट र नम्बर १ पर्यटक गन्तब्य बनिरहेको थाइल्याण्ड अहिले सबैको रोजाइमा पर्ने गरेको बजिमयले जनाए ।
जीबनमा जति पटक घुमे पनि धित नमर्ने पर्यटकीय गन्तब्य थाइल्याण्ड बनिसकेको र आफु जिबनमा नवौ पटक त्यहाँ पुगि सक्दा पनि अझै घुम्ने रहर नमेटिएको लुम्बिनीका प्रचारक एबं अभियन्ता चेतन पन्तले जनाए । दर्जनौ पर्यटकीय आकर्षणका बस्तुहरू, मनमोहक समुन्द्रका छेउहरू, बुद्ध भगवानका चैत्य मन्दिरहरू, आकर्षक पार्क, पर्यटकीय स्थलमा पुग्ने पूर्बाधारको बिकाश, आत्मिएता आथित्यता त्यहाँ पाइएकाले पर्यटकहरू प्रत्येक बर्ष त्यहाँ बढ्दै गएको हुन् ।
अहिले नेपालका बिभिन्न कम्पनीहरूले आप्ना बितरकहरूका लागि भ्रमण गन्तब्य प्याकेजका रूपमा थाइल्याण्ड भ्रमण गराउने क्रम बढेको छ । अरू मुलुक भन्दा पर्यटकीय आकर्षण बढी भएको, सदाबहार मौसम र सस्तो प्याकेज सहज रूपमा उपलब्ध हुन्े कारणले थाइल्याण्ड आफुको मात्र होईन अरूको पनि गन्तब्य बनेको छ ।
पछिल्लो समय भैरहवाका तिन युबाहरू प्रभात सिंह खाती, मनोज भण्डारी , जगन भुषाल, दिनेश पोखरेल प्याकेज मार्फत् त्यहाँ भ्रमण गरेर आएको जनाउँदै पर्यटकहरूलाई भुलाउने हरेक बस्तु त्यहाँ रहेको र त्यसको अनुसरण नेपालमा गरिए पर्यटक बढी भित्र्याउन सकिने उनीहरूले बताए । पर्यटकहरूका लागि चाहिने सबै आबश्यक कुराहरू त्यहाँ रहेको र पर्यटकलाई भुलाउने चमत्कार भएकाले थाइल्याण्डले पर्यटन क्षेत्रमा प्रगति गर्न सकेको उनीहरूको धारणा रहेको पाइयो । 
छुटाउन नहुने थाइल्याण्डका उत्कृष्ट १० स्थान
बैंककः
यो देशको राजधानी तथा प्रमुख पर्यटकीय एबं ब्यापारिक नगरी हो । पर्यटकहरू सोझै पहिला बैंकक पुग्ने गर्छन् । यहाँ बिभिन्न पर्यटकीय गन्तब्य रहेका छन् । फ्लोट मार्केटिङ, चपाया नदीमा क्रुज डिनर, ठुला ठुला सपिङ मल, बुद्ध भगवानका चैत्य तथा बिहारहरू, १० लाख मानिस अट्नेबाट धम्मकाया ध्यान केन्द्र, लुम्बिनी पार्क, सफारी वल्र्ड, ड्रिम वल्र्ड, लगायत दर्जनांै रहेका छन् ।
पटाया
बैंकक देखि करिब १ सय ५० किलोमिटर टाढा रहेको प्रमुख पर्यटकीय शहर पटायासंग पर्यटकहरूलाई पटाउने आप्mनै शैलि छ । यहाँ जति पर्यटकीय आनन्द अन्य कुनै स्थानमा छैन् । समुन्द्रमा स्पिड बोटको आनन्द, समुन्द्रबाटै प्यारासुटमा उडान भने कार्यक्रम, समुन्द्र भित्रको दृश्यावलोकन, कोरल आइल्याण्डको आनन्द, साँस्कृतिक सो अलकाजार सो, नोंग नुक गार्डेन, डिस्को बार, मसाज, यौन गतिबिधीमा आधारित बिभिन्न कार्यक्रम त्यहाँका आकर्षण हुन् । १ करोड बढी पर्यटक अघिल्लो बर्ष पटया पुगेका रहेछन् ।

फुकेतः
बैंककबाट करिब ७ सय किमी टाढा रहेको यो शहर पनि समुन्द्रको छेउमा रहेको पर्यटकीए शहर हो । यसै ठाउँको अग्लो डाँडामा पर्यटकलाई आकर्षण गर्न बिग बुद्धको मूर्ति राखिएको छ ।
अयौत्थयाः
बैंकक देखि ७० किलोमिटर टाढा रहेको अयौत्थया थाइल्याण्डको प्राचिन राजधानी हो । यहाँ १४ औं शताब्दीका राजधानीका प्राचिन अबशेषहरू हेर्न पाइन्छ । यो स्थान पनि पर्यटकीय गन्तब्य हो । त्यस्तै गरी उपत्यकाका रूपमा रहेको च्यांगमाई र च्यांगराई पहाडसंग जोडिएका शहर हुन् । त्यस्तै कोसुमाई, कराबी समुन्द्रको छेउमा रहेको साना शहर हुन भन् हाथाई मलेशियासंग सिमा जोडिएको शहर हो । स्थलमार्गबाट मलेशिया जान चाहने यही शहर भएर जाने गर्छन् । चियांगमाई, चियांगराई, कञ्चनबुरी, सुरतथानी प्रमुख पर्यटकिय गन्तब्य हुन् ।
समुन्द्रबाटै प्यारासुट उडानको मज्जा
पर्यटकीय सामुद्रिक शहर पटायासहित अन्य शहरमा समुन्द्रमाथि प्यारासुट बाट पर्यटकलाई उडाउने रोमाञ्चाक कार्यक्रम पर्यटकका लागी थप आकर्षण बन्ने गरेको छ । पटाया बिच नजिकै पर्यटकहरूका लागि लक्षित गरी एक दर्जन बढी बोटहरूबाट स्पीडबोटको माध्यमबाट पर्यटकहरूलाई प्यारासुटमा राखी उडाउने गरिन्छ । स्पीड बोटको पछाडी डोरीले प्यारासुटलाई बाधेर तानिन्छ र हावामा प्यारासुट सहित मानिस उड्छन् ।
पाँच मिनेट उडेको पर्यटकले ५ सय भाट (नेपाली रूपैयाँ १५ सय तिर्छन् । पटाया बिचमा बार्षिक १ करोड बढी पर्यटक पुग्छन् । पछिल्लो समय नेपालीहरू पनि त्यहाँ धेरै पुग्ने गरेका छन् । यस्तै रोमाञ्चक उडान पोखराको फेवा ताल, बेगनास ताल, लगायत देशका बिभिन्न स्थानमा रहेका ताल तलैयाहरूमा गर्न सके पर्यटकलाई भुलाउने थप आकर्षण बन्न सक्छ । 
क्रुज डिनरको मज्जा
बैंककको मुटु भएर बग्ने चपाया नदिमा क्रुज डिनर पर्यटकहरूका लागि अर्को आकर्षण बन्ने गरेको छ । दर्जनौ क्रुजमा आयोजना हुने डिनरमा हजारौ पर्यटक सहभागी हुँदा रहेछन् । १ घन्टासम्म नदीमा चल्दै गरेको क्रुजमा डिनर बास्तबमै पर्यटकका लागि आकर्षण बनेको छ । क्रुज अनुसार प्रतिब्यक्ती नौ सय भाट (२७ सय नेपाली रूपैयाँ प्रति ब्यक्ति) बाट डिनरको दर सुरू रहेको छ ।
पाइलै पिच्छे मसाज पार्लर र सेभेन ईलाभेन स्टोर

बैंकक, पटाया, फुकेतलगायत शहरको बिशेषता भनेको पाइलै पिच्छे मसाज पार्लर र दैनिक प्रयोजनका सामग्री र खाद्यबस्तु खरिद गर्ने स्थल सेभेन इलाभेन स्टोर हो । जहाँ सामानहरू सर्बसुलभ दरमा पाइन्छ भने तयारी फ्रोजन खानाहरूलाई तातो गराएर समेत दिने गर्छन् । जसले गर्दा पर्यटकलाई सजिलो हुन्छ । मसाज पार्लर ब्यबस्थीत रहेका छन् । जहाँ खुट्टाको मसाजदेखि माछालाई टोकाएर गरिने मसाज, शरीरको सबै भागको मसाज गरिदिन्छन् । महिलालाई महिलाले र पुरूषलाई पुरूष महिला दुबैले मसाज जगर्न सक्ने सुबिधा पाइन्छ । दिनभरीको भ्रमणको थकानलाई मसाज गरिसके पछि आनन्दमय प्राप्त हुन्छ ।
यौन ब्यवस्थापन
यौन क्रिया (सेक्स) का लागि थाइल्याण्ड सरकारको अनुमति पत्र आबश्यक पर्दो रहेछ । बिना आईडि कार्ड यौनकर्मी महिलाहरूलाई होटलमा प्रबेश निषेध रहेछ भने हरेक हप्ता स्वास्थ्य परीक्षण अनिबार्य गर्नु पर्दो रहेछ । सरकारले प्रदान गर्ने यौनकर्मीहरूलाई दिइने कार्डमा चिप्स जडान भएको हुँदो रहेछ र त्यो कार्डलाई बिमानस्थल लगायतका धेरै ठाउँहरूमा आधिकारिक परिचय पत्रको रूपमा पेश गर्न समेत पाइँदो रहेछ । बास्तबमा भन्दा थाई सरकारले यौन पर्यटनको ब्यबस्थापन समेत निकै राम्ररी गरेको छ । यौनकर्मी महिला पुरूषले त्यहाँ राज्यलाई कर तिर्ने गर्छन् ।
सडक छेउका खाना (स्ट्रीट फुड)

सडक छेउमा पाइने खाना त्यहाँको अर्को बिशेषता हो । राति ११÷१२ बजेसम्म पाइने थाई तथा बिभिन्न देशका खानाहरू सर्ब सुलभ दरमा पाइन्छन् । पर्यटकहरूले चाहेको खानाको स्वाद रातीसम्म लिन सक्छन् । जे होस् थाइल्याण्डसंग त्यहाँ जाने पर्यटकहरूलाई लोभ्याउने, पटाउने धेरै उपाय छन् । सेक्सको माध्यम अब पुरानो भयो । सेक्स टुरिजम एउटा पाटो होला तर अब सेक्ससंगै पर्यटकलाई भुलाउने धेरै चिजहरू थाइल्याण्डसंग छ । बास्तबमै थाइल्याण्ड अमेजिङ छ ।

(शर्मा न्यूज ओकेका सम्पादक हुन र यो समाचार स्थलगत भ्रमणपछि लेखिएको हो ।)














