नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, साहशिक खेल क्यानोयिङ, ट्रेकिङ्ग, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केवलकार, भिलेज, होमस्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लग्ने योजना प्रदेश सरकारको छ ।

मनोरञ्जन शर्मा, भैरहवा :  प्रदेश ५ सरकारले प्रदेशलाई पर्यटकीय अधिक संभवाना भएको क्षेत्रका रूपमा हेर्दै सरकारको नीति तथा कार्यक्रममा बिशेष महत्व दिएको छ । अघिल्लो हप्ता सार्बजनिक भएको प्रदेशको स्थितिपत्रमा समेत यस प्रदेशको पर्यटन क्षेत्रलाई धेरै महत्वका साथ प्रस्तुत गरिएको थियो भने सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि स्थान दिइएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसदहरूले पनि पर्यटन क्षेत्रलाई जोड दिएका छन् ।
प्रदेश नं ५ मुलूककै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको र आज पनि कूल पर्यटकको संख्या मध्य कम्तीमा एक चौथाई संख्यामा यस प्रदेशमा भ्रमण गर्ने गरेको तथा आन्तरिक पर्यटनका लागि पनि यस प्रदेश देशकै अग्रस्थानमा रहेको स्थितिपत्रमा उल्लेख गरिएको छ । यस प्रदेशमा थुप्रै प्राकृतिक, धार्मिक र साँस्कृतिक पर्यटकीय सम्पदाहरू छन् । विश्वकै ध्यान तान्न सफल बुद्धजन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चमेरे गूफा, जखेरा ताल, तिलौराकोट, निग्लीहवा, कुदान्, सगरहवा, देवदह, रामग्राम, गोटिहवा, स्वर्गद्वारी, धारपानी, पुरन्धारा छहरा, वाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, सुपा देउराली, जगदीशपूर ताललगायत दर्जनौ पाकृतिक सम्पदा तथा धरोहर यस प्रदेशमा छन् ।
प्रदेशका सबै जिल्लाहरूमा धार्मिक मठ मन्दिरहरू रहेका छन् भने साँस्कृतिक रूपमा पनि थारू संस्कृति, मगर संस्कृति, अवधी संस्कृति, मुस्लिम संस्कृति र खस–आर्य संस्कृति मार्फत् पर्यटक गतिबिधि अघि बढाउन मद्धत पुग्ने नीति तथा कार्यक्रम र स्थितिपत्रमा उल्लेख गरिएको छ । भौगोलिक अवस्थिति र भू–वनावट, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुहरूको पवित्रस्थल स्वर्गद्वारी लगायत थुप्रै धार्मिक तथा साँस्कृतिक पुरातात्विक महत्वका मठमन्दिर, स्मारक, सम्पदा, तालतलैया तथा ऐतिहासिक स्थलहरूका साथै थारू, मगर, अवध, मुस्लिमआदि समुदायको विशिष्ट सँस्कृति, बाँके र बर्दियामा रहेका बिश्व प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा पर्यटनको विकासको उच्च सम्भावना रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताए ।
पोखरेलले राष्ट्रिय निकुञ्जलाई थप विकास एवं व्यवस्थित गरी प्रशस्त मात्रामा पर्यटकहरू आकर्षित गर्न सकिने सम्भावना रहेको र मानसरोवर यात्राको आधार बिन्दुका रूपमा पश्चिम नेपालगञ्जलाई थप विकास गर्न सकिने जनाए । उनले पर्यटन मार्फत् यस प्रदेशको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा लुम्बिनी विकास गुरूयोजनाको सम्पन्नता पनि कोसेढुुंगा सावित हुुन सक्ने देखिएकोले छिट्टै सम्पन्न गर्नु पर्ने र त्यसका लागी संघीय सरकारसंग समन्वय गर्ने बताए ।
पर्यटन विकासका लागि विश्वमै प्रसिद्ध शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी एवं बुद्धसँग सम्बन्धित तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, कक्रहवा र कुदानजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकास गरिने नीति रहेको बताइएको छ भने पाल्पा दरवार, रानीमहल, जितगढी किल्ला, नुवाकोट, छिल्लीकोटजस्ता ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा प्रदेश सरकारले महत्व दिने पर्यटन मन्त्री लिला गिरीले बताए । धार्मिक पर्यटन क्षेत्रलाई पनि प्रदेश सरकारले महत्व दिएको र धार्मिक पर्यटनका सम्भावित क्षेत्रहरू प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी रेसुंगा, दाङको धारापानी, रिहार र बाह्रकुने दह, परासीको त्रिवेणीजस्ता क्षेत्रहरूको विकास र प्रवद्र्धनमा जोड दिइ अघि बढ्ने कार्यक्रम रहेको गिरीको भनाई छ ।
प्रदेशमा पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको योगदान अहिलेसम्म खासै नदेखिएको, लुम्बिनी आउने पर्यटकको बसाई लामो नबनाईकन पर्यटनबाट हुने योगदानमा उल्लेख्य वृद्धि हुने नदेखिएको भन्दै लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन संभाब्यता अध्ययनका लागी तथा जगदिशपूर ताल संरक्षण कार्यक्रम र रामग्राम (परासी) देखि तिलौराकोटसम्म मोनोरेल सञ्चालनका लागि प्रदेश सरकारले यस बर्ष २२ लाख रूपैयाँ बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब थानेश्वर गौतमले बताए । ‘सरकारको नीति तथा कार्यक्रम, स्थिति पत्र र बजेटमा समेत प्रदेशको पर्यटकीय बिकास र महत्व दर्शाउँदै बिशेष रूपमा हेरिएको हो’, सचिब गौतमले भने ।
नीति तथा कार्यक्रममा पनि प्रदेशको पर्यटकीय क्षेत्रलाई धेरै महत्व दिइएको छ । जसअनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, साहशिक खेल क्यानोयिङ, ट्रेकिङ्ग, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केवलकार, भिलेज, होमस्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लग्ने योजना प्रदेश सरकारको छ । प्रदेश सरकारले पर्यटन प्रबद्र्धनका लागी हरसंभब कार्य गर्नै जनाएको छ । दुर्लभ पाटेबाघको संरक्षण क्षेत्रका रूपमा रहेको बाँके, वर्दिया राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन सिकार आरक्षण क्षेत्र, पाहुना चराहरूको महत्वपूर्ण गन्तव्य बन्न पुगेको जगदिशपुर तालको संरक्षण र विकास गर्दै पर्यटकीय गतिबिधीलाई अघि बढाई बढी भन्दा बढी पर्यटकलाई भित्र्याउन सकिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तैगरी पर्यटन क्षेत्रको बढ्दो संभावना तथा बढी पर्यटक भित्र्याउनका लागि पहाडी जिल्लाहरूमा पर्यटकीय पदमार्गको रूपमा विकास गर्ने र प्रदेशमा रहेका चारवटै उपमहानगरपालिका आसपासका क्षेत्रमा आधुनिक चिडियाखाना र वनस्पति उद्यानसहितको वहुउद्देश्यीय पार्क निर्माण र पूर्वपश्चिम राजमार्ग आसपासमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक तथा मनोरञ्जन पार्कको स्थापना गर्न सम्भाव्यता अध्ययन गर्नका लागी बजेटमा रकम बिनियोजन गरीनुले पनि प्रदेश सरकार यहाँ पर्यटन प्रबद्र्धन, सम्बद्र्धन र प्रचारका लागी गंभिर बनेको पर्यटन व्यवसायीहरू बताउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपालको पर्यटन सम्बन्धि तथ्याङ्क २०१६ का अनुसार सन् २०१६ मा १२ लाख ८५ हजार बढी पर्यटकहरू लुम्बिनी पुगेका थिए । ती मध्ये ८२ मुलुकका २ लाख ७० हजार विदेशी पर्यटकहरू थिए । सन् २०१७ मा लुम्बिनी पुग्ने पर्यटकको संख्या करिब १५ लाख ५० हजार पुगेको थियो । जसमा भारतीयसहित ८७ देशका ३ लाख १ हजार विदेशी पर्यटकहरू थिए भने बाँकी सबै आन्तरिक पर्यटकहरू थिए ।

(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)

Leave a Reply