(एसआर गु्रप भैरहवा क्षेत्रमा स्थापित औद्योगिक एवं व्यावसायिक समूह हो । यस व्यावसायिक गु्रपको अध्यक्ष सीताराम उप्रेती छन् । उप्रेतीले आफ्नै नामबाट औद्योगिक समूहको स्थापना गरेका हुन् । दृढ इच्छाशक्ति संगै मेहनतले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण रहेका उनको अहिले स्टिल उद्योग, रियल स्टेट, पर्यटन, निर्माण, इन्जिनियरिङ, ढुवानी सेवा, खाद्यान्न गरी दर्जन कम्पनी छन् ।सफल उद्यमीको परिचय बनाएका उप्रेतीसँग सम्पादक मनोरञ्जन शर्माले गरेको कुराकानीमा आधारित रही तयार पारिएको सफलताको कथा उनकै भनाईमा प्रस्तुत गरिएको छः)
मेरो जन्म २०१४ सालमा पर्वतको पाङराङ गाविसमा पर्ने सिवरास गाउँमा भएको हो । करिब १० वर्षको उमेरमा परिवारका साथ चितवन झरेको हुँ । उमेर २० वर्षको हुँदा आफै केही गर्छु भन्दै मैले २०३४ साल भदौ १ गते घर छाडेर हिँडे । म सुरूमा काठमाडौं गएँ, पुलिसमा भर्ना खुलेको रहेछ, म सजिलै भर्ना पनि भएँ । खाइलाग्दो शरीर, उचाई त्यसैले सजिलैजागिर पाए पुलिसमा । केही दिन तालिम गरें । तर पारिश्रमिक जम्मा १सय २७ रूपैयाँ मात्र थियो । त्यसमा चित्त बुझेन । पुलिसको जागीर बिचमै छाडेर चितवन फर्किए । त्यसपछी दाइले ठेक्कामा चलाउने ट्रकमा सहचालक (खलासी)का रूपमा मैले काम सुरू गरें । मैले मासिक १ सय ५० रूपैयाँ पाउँथें । मेरो व्यवसाय भनूँ या पेसाको सुरूआत नै सहचालक हुन पुग्यो । त्यससँगै ६ महिनासम्म सामान्य मजदुरी काम पनि गरें, पैसा कमाउनका लागि । त्यही क्रममा ट्रक चलाउन सिकें र लाइसेन्स पनि प्राप्त गरें । लाइसेन्स पाएपछि आफैं ट्रक ठेक्कामा लिएर चलाउन थालें । टिम्बर कर्पोरेसनको काठ बोक्ने काम गर्थें । दिन–रात मेहनत गर्दा सफल हुन थालें । मेरो व्यावसायिक करिअर औपचारिक रूपमा ढुवानीबाट सुरू भयो । त्यसपछि २०३५ सालमा एक वर्षको अवधिमा कमाएको ४० हजार बोकेर म बुटवल आएँ । बस खरिद गरी बुटवल–कृष्णनगर चलाउन सुरू गरियो । बस आफैं चलाउँदा तलबसँगै नाफा पनि आधा आउँथ्यो । तर, बस व्यवसायबाट सोचेअनुरूप नाफा भएन । ७ महिना मात्रै बस चलाइयो । सोही वर्ष भैरहवा झरेर सीताराम ढुवानी सेवा स्थापना गरी काम थालें । त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । असफलता भन्ने देख्नै परेन । उद्योग र व्यवसाय थपिँदै गयो । अहिले पनि यो उमेरमा मलाई काम गर्न संकोच छैन्, युबा जस्तै जोशीलो छु, कामका लागी युबा जोश अहिले उत्तिकै छ, ।
म १० वर्षको हुँदा परिवारसित २०२४ सालमा चितवन झरेको माथिनै भनिसके त्यसपछि म विभिन्न पेसा/व्यवसाय अँगाल्ने क्रममा नवलपरासी, बुटवल हुँदै भैरहवा आएँको भनिसके । समयले नै मलाई भैरहवा ल्यायो भन्नुपर्छ । भैरहवाले नै मलाई स्थापित गरायो । आज सबैले मलाई उदाहरणका रूपमा प्रस्तुत गर्दा खुसी लाग्छ ।धेरैले सिताराम बाट प्रेरणा लिनु पर्छ भन्छन्, सुन्दा खुसी लाग्छ, त्यो नै मैले कमाएको अमुल्य सम्पत्ती हो, जुन भौतिक सम्पत्ती भन्दा अति मुल्यवान छ । समयले मलाई भैरहवामै पु¥याउँदा अहिले राम्रो ठाउँमा आईपुगेछु भन्छु । यहाँ उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार छ । भारतबाट कच्चा सामग्री ल्याउन नजिकै नाका छ । देशको मध्यभागमा अवस्थित क्षेत्र भएकाले उत्पादित वस्तु चारैतर्फ पठाउन सजिलो छ । भन्सार नाका सहज पनि छ । यहाँका बासिन्दा सचेत छन् । यस्ता धेरै कारण छन् जसले गर्दा अहिले रूपन्देही अन्य ठाउँभन्दा उद्योग÷व्यवसायका लागि रोजाइमा परेको छ । मैले ३७ बर्ष अघि नै रूपन्देही चयन गरे जुन अहिले समयले देखाएको छ ।
भैरहवा आएर सीताराम ढुवानी सेवापछि अन्य व्यवसाय पनि सुरू गर्ने ईच्छा शक्ती थपिँदै गयो त्यसपछी ब्यबसाय थप्दै गए । पछी यसलाई कर्पोरेट हाउसको रूप दिनुपर्छ भन्ने सुझाव पनि आयो । मेरा छोरा इन्जिनियरिङ पढाइ सकेर फिर्ता आइसकेपछि उद्योग–व्यवसाय हेर्न ऊ योग्य भइसकेको थियो । त्यस पछी २०६७ सालमा एसआर गु्रपको नामबाट कर्पोरेट हाउसको स्थापना भयो । मेरो नाम सीतारामबाट एसआर ग्रुप चयन भयो । यसको संस्थापक÷ अध्यक्ष मै छु र मेरो छोरा इन्जिनियर सुरज उप्रेती प्रबन्ध निर्देशक रहेका छन् । यो गु्रपअन्तर्गत सञ्चालनमा आएको पछिल्लो प्रतिष्ठान एसआर फुड्स हो । एसआर फुड्सले मैदा, आटा, सुजी, चोक्कर उत्पादन गर्छ । त्यस्तै एस.आर. स्टिल उद्योगबाट टीएमटी छड् तथा एंगल पत्ति उत्पादन हुँदै आएका छ । त्यस्तै, अन्य प्रतिष्ठानमा एसआर ढुवानी सेवा, न्यू सुरज निर्माण सेवा, लुम्बिनी आयल सप्लायर, लुम्बिनी पीएसी इण्डष्ट्रिज, एसआर इन्जिनियरिङ, एसआर होटल्स, एसआर रियल इस्टेट, इन्द्रेणी क्रसर उद्योग, एसआर रोडा उद्योग, मोती इँटा र एसआर फुड्स हुन् । त्यस्तै शिक्षा, वित्तीय क्षेत्रमा पनि लगानी छ ।
त्यस्तै एसआर गु्रपबाटै अबको २ वर्ष भित्रै एसआर एग्रो उद्योग सञ्चालन गर्ने सोच बनाएका छाँै भने रूपन्देही क्षेत्रलाई नै लक्षित गरी हाउजिङको काम पनि सुरू गर्ने योजना छ । सिमेन्ट उद्योगमा पनि लगानी गर्ने सोच बनाएका छौं । त्यसका लागी एस.आर. सिमेन्ट दर्ता पनि रहेको छ । उद्योग संचालन र स्थापना संगै बाँकी अहिले सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, व्यवसायको स्तर वृद्धि गर्दै गुणस्तरीय उत्पादन र सेवा दिन हामी कटिबद्ध भएर लागेका छौँ । हाम्रो उद्धेश्य भनेको नाफा आम्दानी कमाउनु मात्र नभई, सामाजिक काम गर्नु समेत हो । सामाजिक उत्तरदायीत्व अन्तरगत शिक्षा, स्वास्थय, मठमन्दिर लगायत बिभिन्न सामाजिक क्षेत्रमा हामीले सके अनुसारको सहयोग तथा काम गर्दै आएका छौ र यसलाई निरन्तरता हामी दिन्छौ ।
एसआर गु्रप अन्तर्गतका विभिन्न प्रतिष्ठानबाट प्रत्यक्ष रूपमा ४ सय भन्दा बढीले रोजगारी पाएका छन् । दक्ष, अर्ध दक्ष र सामान्य गरी तीन खालका मजदुर÷कामदार छन् । सामान्य, अर्ध दक्ष कामदारलाई काम सिकाइन्छ । तालिम उपलब्ध गराइन्छ । केही कामदार सीप सिक्नासाथ खाडीतिर जान्छन् । काम सिकेपछी बिदेश जाने प्रचलनले हामीलाई मात्र होईन राष्ट्रलाईनै नोक्सान भएको छ भन्ने हाम्रो भनाई हो । अहिले दक्षको त कुरै छाडौं, अर्ध दक्ष र सामान्य मजदुर÷कामदार पाउन पनि गाह्रो भइसक्यो । अहिले मेरो मात्र नभई धेरै उद्योगी–व्यवसायीको समस्या भनेकै मजदुर–कामदार पाउन गाह्रो हुनु हो । उतिबेला कामदार पाइन्थयो तरलगानी गर्न गाह्रो । बैंकहरूले लगानी गर्दैनथिए छिटो । उद्योग र व्यवसायका लागि अहिलेकै समय उपयुक्त मानेको छु । अहिले बैंकहरू आफैं लगानी गर्छौं भन्दै घरदैलोमा आउँछन् । उद्योग÷व्यवसायका लागि बैंकबाट सजिलै कारोबार हुन्छ । सरकारले लाइसेन्स पनि सजिलै दिएको छ । यद्यपि, लाइसेन्स पाउन सजिलो छ तर उद्योग स्थापना हुने गाउँबाट सिफारिस पाउन भने धेरै गाह्रो हुने गरेको छ ।
एकै खालको मापदण्ड नभएका कारण उद्योगहरू छरिएर रहेका छन् । जसले गर्दा वातावरण प्रदूषण बढिरहेको छ । हामी उद्योगीलाई नै पनि समस्या पर्छ । त्यसैले सरकारले प्रत्येक जिल्लामा जग्गा खोजी गरी औद्योगिक क्षेत्र स्थापनामा जोड दिनुपर्छ । अब आउने उद्योगलाई एकीकृत गरी एकै ठाउँबाट सञ्चालन गर्ने व्यवस्थासहितको नीति आउनुपर्छ । त्यसले उद्योग धन्दा पनि फस्टाउछ र वातावरण प्रदूषणको समस्या पनि धेरै कम हुन्छ भन्ने मेरो धारणा हो । अहिले बिद्युतको समस्या केही कम भएको छ । बिगतमा उद्योग चलाउन जम्मा ८ घन्टा विद्युत् आउथ्यो तर अहिले केही महिना भयो, विद्युत्को समस्या कम भएको छ, सरकारले यस्तै गरी बिद्युत उपलब्ध गराउनु पर्छ ।
मैले ट्रकको सहचालक भएर काम सुरू गरें, लेबर,मजदुरको काम गरें, बस, ट्रक चलाएँ । मेहनत गरे जे पनि हुँदो रहेछ । कामलाई ठूलो–सानो भन्नु हुँदैन । मुख्य कुरा आफूमा दृढ इच्छाशक्ति हुनुपर्छ । इच्छाशक्ति भयो भने कहिल्यै असफलता भोग्नुपर्दैन । म सफल हुनुमा पनि दृढ इच्छाशक्ति नै कारण हो । आफैं केही गर्छु भन्ने उद्देश्य लिएर मैले घरबाट केही पनि नलिई हिँडें, त्यही अठोटले मलाई सफल बनायो । ११ दाजुभाइमध्ये म कान्छो थिएँ । पढ्ने अवसर पाइएन । जम्मा ४ कक्षासम्मको अध्ययन हो मेरो, म लाज नमानि भन्छु । मेरा दाजु निवर्तमान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि बडो मुस्किलले अध्ययन गरेका हुन् । उति बेला मलाई शिक्षाभन्दा समयले साथ दियो । तर, अहिले शिक्षा पनि आवश्यक छ । त्यही भएर मैले पढ्न नपाए पनि छोराछोरी सबैलाई उच्च शिक्षासम्म पढाएको छु । सबैको सहयोगबाट अहिले उद्योग÷व्यवसाय अघि बढेको छ । त्यसैले समयसापेक्ष शिक्षा दिनुपर्छ र सबैले शिक्षा लिनु पर्छ भन्ने मेरो मान्यता हो । तपाईहरू पनि उद्योग÷व्यवसायमा आउने हो भने दृढ इच्छाशक्ति संगै मेहनत पनि गर्नु पर्छ , अवश्य सफल भइन्छ ।













