सिद्धार्थनगरमा ब्यवसाय कर २५ प्रतिशत सम्म बृद्धि
मनोरञ्जन शर्मा
भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाले साउन १ गतेदेखि करको दर बढाएको छ । गत पुस महिनामा सम्पन्न २० औं नगर परिषद्मा निर्णय भए अनुसार ब्यबसायीहरूसंग बढेको दर कार्यालयले १ गतेबाट नै उठाउँदै आएको छ ।
बरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्रीले २० औं नगर परिषद्मा निर्णय भए अनुसार ब्यबसायीहरूसंग बढेको दर उठाउन थालेको बताए । ‘बिगत ५ वर्षसम्म करको दर बढाएका थिएनौ, अहिले बढाईएको हो’– उनले भने ।
बढेको करको दरमा नगरभित्रका ब्यबसायीहरूले गर्दै आएको ब्यबसायको आधारमा १० देखि २५ प्रतिशतसम्म बृद्धि भएको छ । त्यस्तै गरी पटके सवारी करमा २५ प्रतिशतसम्म, बसपार्क प्रबेश गर्ने सवारीमा, हाटबजारको बैठकी कर, घरनक्सा दस्तुरमा समेत करको दर बढेको क्षेत्रीले जानकारी दिए ।
घर तथा जग्गा बहालमा लगाएबापत नगरपालिकालाई तिर्नु पर्ने बहालकरमा भने कुनै परिबर्तन गरिएको छ्रैन् । नगरबासीले आफ्नो घर जग्गा बहालमा लगाए बापत साबिक बमोजिम बहाल रकमको २ प्रतिशत कर यथाबत छ । न्यून नगरबासीहरूले घर बहाल बुझाउने गरेका छन् ।
बढेको करको दर अनुसारको रकम असुली गर्न सुरू भइसके पनि यही साउन २५ गते भित्र बस्ने नवनिर्बाचित जनप्रतिनिधीहरूको नगर परिषद्ले पुरानै करको दर हाललाई यथावत राख्ने प्रस्ताब पारित गरेमा भने बढेको करको दर लागु हुन सक्दैन् ।
तर आन्तरिक आर्थिक श्रोत जुटाउनेमा रूपन्देहीका अन्य नगरपालिका र गाउँपालिका भन्दा पनि कमजोर आर्थिक अबस्था सिद्धार्थनगर नगरपालिकाको रहेको छ । पाँच बर्षभन्दा लामो समय देखि करको दर नबढाइएको र नगरपालिकाको आर्थिक अबस्था मजबुत गराउन पनि करको दर बढाउन आबश्यक रहेको कर्मचारीहरू बताउँछन् । तर ब्यबसायीहरू भने करको दर नभई करको दायरा बढाउनु पर्ने बताउँदै आएका छन् ।
‘हामी ब्यबसाय गर्नेहरूले कर तिर्दैनौ भन्ने होइन, तर करको दर नभई करका दायराहरू बढाउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले भने । साना तिना सबै खाले ब्यबसायीले कर तिनु पर्छ । तर करको दर एथोचित हुनु प¥यो, हामीले तिरेको करको सदुपयोग हुनु परयो, उनले भने । घर बहाल कर नगरपालिकामा मात्र नभई आन्तरिक राजस्व कार्यालयमा समेत बुझाउनु पर्ने भएकाले एकै शिर्षकमा दोहोरो कर तिर्नु पर्ने व्यवस्था राम्रो नभएको शर्माले बताए । उनले कर न्यायोचित हुनु पर्ने जनाए ।
आम्दानीमा बृद्धि
सिद्धार्थनगर नगरपालिकाको आन्तरिक आयमा बृद्धि भएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा आन्तरिक आय अनुमानित ६ करोड ४० लाख ९० हजार नौ सय रूपैयाँ रहेकोमा खुद ८ करोड ८ लाख ७ हजार ७ सय ६६ रूपैयाँ आम्दानी गरेको छ । कार्यालयले अनुमानित भन्दा २६ प्रतिशतले बढी आन्तरिक आय गरेको बरिष्ठ लेखा अधिकृत क्षेत्रीले बताए । कार्यालयले सो अबधिमा सेवा शुल्क बापत १ करोड ४४ लाख अनुमानित रहेकामा १ करोड ५३ लाख, दस्तुरमा करोड ६४ लाख अनुमानित रहेकामा ३ करोड १० लाख लगायत रहेका छन् । कार्यालयले स्थानीय करमा भने अनुमान गरेको भन्दा १३ लाख कम आर्जन गरेको छ । २ करोड ७० लाख अनुमानित रहेकोमा स्थानीय करमा जम्मा २ करोड ५७ लाख मात्र असुल गरेको छ । नगर भित्र ब्यवसाय गर्दै आएका व्यवसायीहरू धेरै रहे तापनि अझै पनि ४० प्रतिशत करको दायरा बाहिरै रहेको अनुमान छ ।
सवारी कर तिर्दैनन् नगरबासी
नगरक्षेत्र भित्र सवारी सञ्चालन गरे बापत नगरबासीहरूले तिर्नु पर्ने कर १ प्रतिशतले पनि तिरेका छैनन् । मोटरसाइकल, कार, जिप, भ्यान, बस, ट्रक, ट्याक्टर चलाए बापत नगरपालिकाले तोकेको कर तिर्नु पर्नेमा एकाध बाहेक कसैले पनि तिरेका छैनन् ।
नगरपालिकाका अनुसार जिप, कार, भ्यान, ट्याक्टरको कर बार्षिक ३ सय रूपैयाँ छ भने मोटरसाईकल स्कुटरको १ सय रूपैयाँ छ । त्यस्तै बस, ट्रक लरीको बार्षिक ३ हजार, मिनिबस, मिनि ट्रकको बार्षिक एक हजार, हेण्ड ट्याक्टर, टायर गाडाको बार्षिक १ सय रहेको छ । इ–रिक्सा, रिक्सा, ठेला गाडा भने नगरपालिकामा दर्ता भई सञ्चालन हुने हुँदा ति साधनले कर बुझाएका छन् । यद्यपि ति सवारी साधन मध्ये केही भने बिना दर्ता नै सञ्चालनमा छन् । कार, मोटरसाइकल, स्कुटर, जिप, भ्यान चलाउने सवारी धनिलाई करको दायरामा ल्याउन सके नगरपालिकाको आयश्रोत बढ्ने छ । यसतर्फ नवनिर्बाचित जनप्रतिनिधीहरूले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।














