मनोरञ्जन शर्मा
भैरहवा ।
पछिल्लो पाँच वर्षमा मुलुकका अन्य शहर भन्दा बेग्ले तरीकाले अघि बढेको शहर हो भैरहवा । पश्चिम नेपालमा अवस्थित रूपन्देही जिल्लाको सदरमुकाम समेत रहेको भैरहवा क्षेत्र मुलुकका अन्य क्षेत्र भन्दा त्यसै चर्चामा रहेको भने पक्कै होइन् । यो शहरको चर्चा हुनुमा विविध कारणहरू रहेका छन् ।
विश्वशान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रबेशद्धारका रूपमा यो शहर रहनु, स्थलमार्ग भएर सबैभन्दा बढी तेश्रो मुलुकका पर्यटक यसै शहर (बेलहियानाका) भएर प्रबेश गर्नु, औद्योगिक तथा व्यावसायिक शहरका रूपमा स्थापित हुनुले मात्र भैरहवा चर्चाको बिषय अब निश्चय पनि रहेन् ।
पछिल्लो समय यहाँको गौतमबुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलको रूपमा निर्माण कार्य अघि बढाइनु र देशको पहिलो निर्यातजन्य उद्योग स्थापना हुने योजना सहितको भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)मा उद्योग स्थापनाका लागि संझौता हुनु जस्ता नयाँ कारण यो भैरहवा शहर चर्चामा आउनु हो । त्यो भन्दा पनि बढी गत बर्ष तराई÷मधेश आन्दोलनमा रहँदा अघोषित नाकाबन्दी हुँदा यो नाका सहज बनाई काठमाण्डांै लगायत देशकै लाइफलाइनलाई तोडिन नदिए पछि यो शहरको चर्चा बढ्दै गएको हो । चर्चा संगै यो शहरले गएको पाँच वर्षको तुलनामा धेरै फडको मारेको छ । अझ गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण क्रम सुरू भए संगै यहाँ लगानी बिस्तार गर्नेहरू दिनहरू बढेका छन् ।
अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सुरू भए संगै यहाँ उद्योग व्यवसाय, होटल लगायतका भौतिक पूर्बाधारका कामहरू तिब्र रूपमा अघि बढीरहेका छन् । नयाँ नयाँ उद्योगहरू स्थापना गर्ने क्रम बढीरहेको छ, नेपाल भित्र उद्योग कलकारखाना स्थापनाका लागि अहिले रूपन्देही र त्यसमा पनि भैरहवा क्षेत्र प्रमुख रोजाई सबैको बन्ने गरेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा बताउँछन् । अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण संगै भौतिक पूर्बाधार तथा उद्योग बिस्तार बढीरहेको छ । धेरै संभावना बोकेको ठाउँ हो भैरहवा क्षेत्र, राज्यले छिटै क्यास गर्न सक्नु पर्छ, यहीबाट सम्बृद्धिको थप मार्ग बन्छ अध्यक्ष शर्माले भने ।
यती मात्र होइन सिद्धार्थनगर पालिका क्षेत्र भित्र स्थायी बसोबास गर्नेहरूको संख्या पनि बेस्सरी बढेको छ । सिद्धार्थनगर नगर पालिकाका बरीष्ठ इन्जिनियर शैलेन्द्र श्रेष्ठका अनुसार बिगत पाँच बर्षको तुलनामा नयाँ घर बन्ने क्रम दोब्बर बढेको छ । गत आर्थिक बर्षमा स्थायी नक्सा पास (घर निर्माण सम्पन्न भए पछि हुने पास) ६ सय थिए भने अघिल्लो वर्ष ५ सय थिए । चालु बर्षको ४ महिनामा २ सय स्थायी पास भइसकेको छ, श्रेष्ठले भने । सहज वातावरण, ठुलो आर्थिक क्षेत्र र नाका , अपार कृषि योग्य भूमि लगायतका पछिल्लो समय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सुरू, सेज जस्ता कारणले भैरहवामा धेरै संभावना बढेको हो, यो समयले देखाई पनि सकेको छ, श्रेष्ठले भने ।
नगरपालिका क्षेत्रमा तिब्र गतिमा शहरीकरण बढेसंगै यहाँ पूर्बाधार निर्माणले पनि तिब्रता पाएको छ । एडिबीको आर्थिक सहयोगमा शहरका भित्रि सडकहरू चौडा बनाउने, नाला निर्माण र पुराना मरमत गर्ने काम ७० प्रतिशत सम्पन्न भएको छ, फोहरमैला व्यवस्थापन गर्न योजना सुरू भएको छ, तत्कालिन समयमा एडिबीको १ अर्ब ७५ करोड अनुदान र ऋण गरी सहयोग आएको थियो अब थप २ अर्ब ३८ करोड रूपैयाँ पुनह आउने भएको छ, यसले थप भित्रि सडक, नाला, निर्माण ,शौर्य बिजुली, शहरलाई सुन्दरीकरण गर्ने काममा प्रयोग गरिन्छ, पाँच बर्ष भित्रमा भैरहवा शहर अझै परीवर्तन हुनेछ, बरीष्ठ इन्जिनियर श्रेष्ठले भने ।
उता भैरहवा शहरलाई परीवर्तन गराउन बाध्य मुख्य रूपमा रहेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण सुरू हुनु नै हो । २०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री स्व. शुशिल कोइरालाले शिलान्यास गरेको यो बिमानस्थलको निर्माण अहिले सम्म करीब ३० प्रतिशत सकिएको छ । यद्यपी सबैभन्दा दुखका कामहरू घाघरा नदी डाइभर्सन, ३ हजार मिटर लामो रनवेको सतह निर्माण (आपतकालिन अबतरण गराउन सकिने), टर्मिनल बिल्डिंंगको फाउन्डेशन लगायतका काम सम्पन्न भइसकेका छन् । निर्माणका क्रममा केही समय बन्द हडताल र त्यसपछि निर्माण सामग्रीको अभावले गर्दा अप्ठेरो परेको थियो तर अब निर्माणले गति लिएको छ, गौतमबुद्ध बिमानस्थल स्तर उन्नती आयोजना प्रमुख ओम शर्माले भने । निर्माण सम्पन्न गर्ने लक्ष्य १७ डिसेम्बर ३१ रहेता पनि ६ महिना समय थपको लागि आयोजनाको कन्सलटेन्सीले सिफारीस गरिसकेको छ, तोकिएकै समयमा काम फर्ते गर्ने गरी अहिले निर्माण कार्य भइरहेको छ, आयोजना प्रमुख ओम शर्माले भने । यो विमानस्थलको क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बराबरकै हुनेछ । विमानस्थल बनिसकेपछि काठमाण्डांैको हवाई चाप समेत घट्ने निश्चित छ ।
विमानस्थल निर्माण सुरूसँगै यहाँ जग्गाको मुल्य सुन भन्दा महगो जस्तो भएको छ । पहिला देखि नै आकर्षणको केन्द्र रहेको यो क्षेत्रमा पछिल्लो समय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माणसँगै जग्गाको मुल्य पनि अत्यधिक बढेको छ । लामो समय देखि घर जग्गा खरिद बिक्री तथा रियल स्टेटको कारोबारमा संलग्न सानु हाउजिंग कम्पनिका प्रबन्ध निर्देशक कृष्ण प्रसाद शर्मा ‘सानु’का अनुसार पाँच वर्षको अन्तरालमा यहाँ जग्गाको मुल्य १५ गुढाले बढेको छ । शर्मा भन्छन्, ‘५ बर्ष अघि २५ हजार रूपैयाँ धुरमा खरीद बिक्री भएका जग्गा अहिले २ लाख ५० हजार देखि ४ लाख रूपैयाँ धुर सम्ममा बिक्री भइरहेका छन्, बिमानस्थल निर्माण सुरू भए लगत्तै जग्गाको भाउ बढेको हो, घर बनाउने बस्ने क्रम धेरै बढेको छ, काठमाण्डांै उपत्यका भित्र ५० लाख सम्म तयारी घर पाइएला तर भैरहवा क्षेत्रमा त्यति मुल्यमा घर जग्गा पाउन गाह्रो छ, उनले भने ।
अझ बुद्धजन्मस्थल लुम्बिनीमा झनै बढेको छ, त्यसै त चर्चित स्थान त्यसमा पनि बिमानस्थल निर्माण सुरू संगै त्यहाँ पनि जग्गाको भाउ हवात्तै बढेको छ, पाँच वर्ष अघि ५० लाख बिगाहामा पाइने जमिन अहिले ५ करोड रूपैयाँमा पनि पाइँदैन, उनले भने ।
बिमानस्थलले धेरै परीवर्तन गराएको उनको ठहर छ ।
त्यस्तै गरी पछिल्लो समय यस क्षेत्रमा होटल तर्फ पनि लगानी बढेको छ । बिमानस्थल निर्माण संगै फेरिएको एउटा यो पनि हो, पर्यटन उद्योगमा लगानी । लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायी पवन हलुवाईले पाँच तारे होटल पवन इन्टरनेशनलको निर्माण गरिरहेका छन् । बिमानस्थल निर्माण सम्पन्न हुनु अगावै होटल सञ्चालनमा ल्याउने उनको योजना छ । हलुवाई भन्छन, मैले अहिले देखिनै यहाँको बिमानस्थलमा बोइग एअर बस उडान अबतरण गरेको सपना देख्न सुरू गरिसके, भैरहवा लुम्बिनी संभावना भएको ठाउँ हो, अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणसंगै यो क्षेत्रले सम्वृद्धको ढोको खोली दिएको छ, पवन हलुवाईले भने ।
बिमानस्थलकै कारण यहाँको पर्यटन क्षेत्रमा अर्बौको नयाँ लगानी भएको होटल एशोसियसन नेपाल हानका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् । पछिल्लो समय होटलमा लगानी धेरै बढ्यो, अझै लगानीकर्ताहरू आइरहेका छन्, भबिष्यमा होटलै होटलको शहर बन्ने निश्चित छ भैरहवा तथा लुम्बिनी क्षेत्र , श्रेष्ठले भने । यहाँ पाँच तारे देखि पर्यटकीय सुबिधा सम्पन्न नन तारे होटल निर्माण भइरहेका छन्, ।
अहिलेबाट नै राजधानी काठमाडौंलाई उछिन्ने आधार भैरहवा क्षेत्रले बनाउन सुरू गरिसकेका उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा बताउँछन् । बुद्धजन्मस्थल लुम्बिनी, निर्माणधीन अन्तर्राष्ट्रिय बिमानस्थल, सेज पूर्बाधार निर्माण सम्बन्धी आवश्यक सामग्री निर्माण उद्योग र यहाँका कृषि योग्य जमिन जस्ता कारणले अहिले यो क्षेत्र महत्वपुर्ण रहेको छ, शर्माले भने ।
अहिले मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा आफुलाई स्थापित गरिसकेको भैरहवा (सिद्धार्थनगर) अब मुलुककै प्रमुख आर्थिक, पर्यटकीय, कृषि केन्द्र बन्ने बाटोमा लागि परेको छ, शर्माले भने । नेपालको मानचित्रमा मध्यभागमा अवस्थिति हुनु पनि प्रगतिको एउटा प्रमुख कारण हो ।
बेलहिया–भैरहवा–बुटवल सिक्स लेन सडक निर्माणका क्रममा छ, यसले भैरहवा र बुटवलको सामिप्यतालाई जोड्दै महानगरपालिकाको खाका छिटै बनाउने छ । भैरहवासंगै बुटवल, परासी कपिलबस्तुले पनि विकासमा फड्को मार्दै गएका छन्, यो सबैमा महत्वपुर्ण पाटो भनेको बुद्ध जन्मस्थल लुम्बिनी हो । अप्रशोधित हिराका रूपमा रहेको लुम्बिनीको गुरूयोजना अनुसार विकास निर्माण छिटै गर्न जरूरी छ । अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्नसंगै लुम्बिनीका सबै पूर्बाधारको निर्माण हुन जरूरी छ किन भने त्यसपछि पर्यटक कति आउँछन् कसैले अनुमान गरेकै छैनन् ।














