बैदेशिक रोजगारको बाढी र लगानी सम्मेलनको तरंग : मधुसुदन पोख्रेल

0
50

गाउँ होस् वा सहर पछिल्लो दशकमा वैदेशिक रोजगारमा युवा युवतीहरूको आकर्षण उल्लेख्य रूपमा बढ्दै गईरहेको छ । स्वदेशमा प्रर्याप्त रोजगारीको अभावका कारण देशको अर्थतन्त्र दशकौं देखि वैदेशिक विप्रेषण आप्रवाहले धानेको तथ्य सबैको सामु छर्लङ्ग छ । देशको कुल गार्हस्थ्य उत्पादनमा विप्रषेणको अंश झन्डै एकतिहाइ (३२ प्रतिशत) पुगिसकेको छ । औपचारिक तथ्यांकअनुसार नेपाली श्रम बजारबाट बाहिरिने युवा युवतीहरूको संख्या औसतमा दैनिक करिब १५ सयको हाराहारीमा रहेको छ । यसरी युवा पुस्ताको रगत र पसिनासँग साटिएको रकमले देशको अर्थतन्त्र चल्नु पर्ने र जति विप्रेषण भित्रिरहेको छ झन्डै त्यति नै रकम छिमेकी मुलुकसँगको व्यापार घाटा (जीडीपीको करिब ३८ प्रतिशत) बापत बुझाउनु पर्ने नेपालको वास्तविकता निकै पीडादायी छ ।

विप्रेषणमा निहित अर्थतन्त्र, बढ्दो आयात र देखासिकी संस्कृतिमा बढी मात्रामा प्रयोग भइरहेको छ । जसका कारण देशमा उपलब्ध स्रोत र साधनको समुचित प्रयोग हुन नसकी घरजग्गा, गाडी, सुनचाँदी जस्ता कम उत्पादनशील क्षेत्रमा लगानी बढेको तथ्यांक सार्वजनिक भइरहेका छन् । खुला सिमाना र नेपालबाट अन्यत्र मुलुकमा बसोबास गर्ने असीमित आप्रवासी समेतका कारण देशबाट हुन सक्ने पूँजी पलायनको सम्भावनाले देशको भविष्यलाई सधैं अस्थिर र जोखिममा रहेको संकेत गदर्छ ।
यस्तो परिस्थितिमा नेपालमा रहेका लगानी सम्भावनाहरूको सदुपयोग भन्ने मूल नाराका साथ नेपाल सरकारको आयोजनामा भर्खरै लगानी सम्मेलन सम्पन्न भएको छ । फागुनको १९ र २० गते सरकारले लगानी आकर्षणलाई मुख्य अभिप्राय बनाएर काठमाडौंमा नेपाल लगानीकर्ता शिखर सम्मेलन सम्पन्न भएपश्चात निजी तथा सरकारी क्षेत्रमा नयाँ आसाको सञ्चार भएको छ । जसले औद्योगिक अर्थतन्त्रमार्फत् युवा रोजगारीको क्षेत्रमा समेत एउटा तरंग सिर्जना गराएको छ । लगानी सम्मेलनको मुख्य उदेश्य बैदेशिक लगानीलाई बढी भन्दा बढी भित्राएर औद्योगिक तथा पर्यटकी अर्थतन्त्रलाई सवल बनाउँदै स्वदेशमा नै रोजगारीको अवसरलाई बढाउँदै जानु रहेको प्रष्ट रूपमा बुझ्न सकिन्छ ।
लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रूपैयाँ बराबरको प्रतिबद्धता आएको जनाइएको छ । उक्त प्रतिबद्धतामा सबैभन्दा बढी चीनबाट लगानीको घोषणा गरिएको छ । चीनबाट मात्रै ८ खर्ब ३० अर्बको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनमा अन्य देशका लगानी कर्ताको प्रतिबद्धतालाई उछिन्दै चीनबाट सबैभन्दा धेरै लगानीको घोषणा भएको हो । जुन कुल घोषित लगानीको ६१ प्रतिशत हो । सम्मेलनमा सहभागी बंगलादेशका लगानीकर्ताले दोस्रो ठूलो प्रतिबद्धता जनाएका छन् । उनीहरूले २ खर्ब ४० अर्ब रकमको लगानीको घोषणा गरेका हुन् । चिनिया तथा बंगलादेशका लगानीकर्ताको तर्फबाट भएको घोषणाले भारतीय लगानीकर्तालाई निकै पछि पारेको छ । नेपालमा लगानीका लागि होडबाजीमा रहको भारतबाट सम्मेलनमा सहभागी लगानीकर्ताले ३१ अर्ब ७० करोडको मात्रै प्रतिबद्धता जनाएका छन् । भारतबाट आएको प्रतिबद्धता कुल घोषित रकमको २.२९ प्रतिशत मात्रै हो । यसरी लगानी प्रतिबद्धताको होडबाजीमा भारतलाई श्रीलंकाले पनि उछिनेको छ । श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीको लागि आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । नेपालका लगानीकर्ताबाट भने १ अर्ब १५ करोडको लगानीको प्रतिबद्धता रहेको लगानी बोर्डले जनाएको छ । विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाव्य क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । जसलाई लगानी सम्मेलनको उपलव्धीको रूपमा व्याख्या गर्न थालिएको छ ।
देशले अपेक्षा राखेको द्रुत आर्थिक विकासका लागि पर्याप्त लगानीको खाँचो रहेको छ । उत्पादनका क्षेत्रमा मनग्य लगानी, आन्तरिक स्रोत साधनको अधिक उपयोग र यसको बलमा सिर्जना हुने रोजगारीका अवसरहरूको उपयोगलाई आर्थिक विकासको आधारका रूपमा स्थापित गर्नु पर्ने देखिन्छ । तर यसका लागि आवश्यक पर्ने उपयुक्त पूर्वाधारको पर्याप्त विकास भने भएको देखिंदैन । नेपालका लागि लगानी सम्मेलन नयाँ विषय होइन । केही दिनअघि मात्रै काठमाडौं मै पूर्वाधार सम्मेलन आयोजना भएको थियो । त्यसअघि स्वयम् प्रधानमन्त्रीले संयुक्त अरब इमिरेट्समा भएको ऊर्जा सम्मेलनमा सहभागी भई नेपालमा लगानी ल्याउन आग्रह गरेको कुरा धेरै लामो भएको छैन । सन् २०१४ मा पनि काठमाडौंमा निकै उत्साहका साथ लगानी शिखर सम्मेलन भएकै थियो । तर त्यस्ता सम्मेलन र सहभागिताबाट भएका उपलब्धिहरूलाई सरकारले किटानीका साथ सार्वजनिक गर्न सकेको छैन । आम जनमानसमा सो को अनुभुती हुन सकिरहेको छैन नत वैदेशिक रोजगारमा जाने युवायुवतीहरूको संख्यामा समेत कुनै कमी आएको छ । यसका निचोड र प्रतिबद्धतालाई सही रूपमा कार्यान्वयनमा लैजाने हो भने मात्रै सम्मेलनको औचित्य प्रमाणित हुनेछ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ र त्यसैताका आएको औद्योगिक व्यवसाय ऐनलाई नेपालमा वैदेशिक लगानीको कानूनी पूर्वाधार मानिन्छ । त्यसयता मात्र नेपालमा वैदेशिक लगानी भित्रिन थालेको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणका आफैमा थुप्रै फाइदा तथा बेफाइदाहरू नभएका होइनन् । निचोडमा भन्नु पर्दा नेपाल र नेपालीहरूको अधिकतम दीर्घकालीन हित हुने गरी बैदेशिक लगानीलाई स्वीकार गर्नु वुद्धीमानी हुनेछ । हालै औद्योगिक व्यवसाय ऐन २०४९ लाई विस्थापित गर्दै नयाँ औद्योगिक व्यवसाय ऐन पनि आइसकेको छ । तर यसले व्यवस्था गरेका बन्दहडतालमुक्त उद्योग प्रतिष्ठान र ‘नो वर्क नो पे’जस्ता प्रावधानमा अझै पनि विवाद देखिने गरेको छ । यस्ता विवादलाई छिटो भन्दा छिटो समाधान गरी वैदेशिक लगानीको वातावरणलाई विश्वासिलो बनाउनु पर्ने देखिन्छ ।
नेपाललाई विकासशील देशको सूचीमा स्तरोन्नती गराउन बृहत् परिमाणमा लगानी भित्र्याउनुको अर्को उपाय छैन । आर्थिक विकासका लागि लगानी आकर्षणमा सबैको मतैक्यता पाइन्छ । लगानी आकर्षणका उपायहरूमा बृहत् बहस र छलफल पनि हुँदै आएका छन् । तीव्र आर्थिक वृद्धिका लागि उत्पादनका क्षेत्रमा वार्षिक ६ खर्ब रूपैयाँको हाराहारीमा लगानी खन्याउनुपर्ने हुन्छ । उत्पादनका क्षेत्रमा भएको यो परिमाणको लगानीले मात्र दोहोरो अङ्कको आर्थिक वृद्धि सम्भव हुने मत विज्ञहरूले व्यक्त गर्दै आएका छन् । तर हालसम्मको अवस्थालाई हेर्दा लगानीको परिमाण निराशा जनक छ । यस अवस्थामा वैदेशिक लगानीलाई ठोस रूपमा आकर्षित गर्न सरकारको गम्भिर पहल र नागरीकहरूको रचनात्मक सहयोग आवश्यक छ ।
नेपालमा उपलब्ध जलस्रोत, जंगल, जडीबुटीको प्रभावकारी उपयोग हुन सके स्वदेशमा रोजगारी र आयआर्जनको मार्ग प्रशस्त हुनेमा सबैको एकमत देखिन्छ । जसले हाल भैरहेको वैदेशिक रोजगारीको बाढीलाई समेत रोक्न मद्त गर्ने छ । प्राकृतिक स्रोतसाधनको दृष्टिकोणबाट नेपालभन्दा निकै कमजोर मानिएका थाइल्यान्ड, सिंगापुरजस्ता मुलुकले समेत दरिलो राजनीतिक इच्छाशक्ति र सुशासनका माध्यमबाट छोटै समयमा मुलुकको कायापलट गरेका उदाहरणहरू थुप्रै रहेका छन् । पर्यटन र व्यावसायिक कृषिक्षेत्रको उत्थानबाट स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकता साथ कार्यान्वयन गर्न सके एक हदसम्म बिदेसिने कामदारको प्रवाह रोक्न सकिने देखिन्छ ।
नेपालमा जलविद्युत् कृषि, पर्यटन लगायत सम्भावित क्षेत्रको सदुपयोगका लागि स्वदेशी लगानी मात्र पर्याप्त छैन । यसको उपयोगका लागि ठुलो परिमाणमा वैदेशिक लगानी नभई हुँदैन । तर यसरी गरिने लगानीमा केही निश्चित अंश आम सर्वसाधारण नागरिकहरूका लागि पनि सुनिश्चित गरिने नीति तय गरिनु पर्दछ । यसो गर्न सकेमा नै लगानीमा दिगो पना कायम रहने छ ।
अन्त्यमा
नेपालमा पटक पटक भइरहेका राजनीतिक क्रान्तीले एउटा अध्याय पार गरिसकेको छ । अबको समय आर्थिक क्रान्तीको समय हो भन्ने कुरामा धेरैको विमति रहेको पाइदंैन । त्यस्तो आर्थिक क्रान्तीको प्रतिफल अब हाम्रै पालामा सुनिश्चित हुनु पर्दछ । हाम्रा भावी सन्ततीहरूको भविष्य कुहिरोको काग जस्तो बन्नु हुँदैन । लगानी सम्मेलन मार्फत् उल्लेख्य लगानीको प्रतिबद्धता आउनु हाम्रो लागि उत्साह जनक तथा स्वागत योग्य कुरा हो तर विगतमा पनि यस्ता औपचारिक कार्यक्रम मार्फत् ठुला ठुला प्रतिबद्धताहरू आउने तर अनेक बाहानामा कार्यान्वयन तहमा आलटाल गर्ने थुप्रै उदाहरणहरू नभएका होइनन् । कुनै पनि बाहानामा त्यस्ता बेइमानीहरू अब हुनु हुँदैन । सरकारले पनि त्यसका लागि उपयूक्त नीति र वातावरण बनाउन इमान्दारिताका साथ अगाडी बढ््नु पर्दछ । वैदेशिक लगानीको प्रकृयामा देश र जनतालाई अधिकतम लाभ हुनु पर्दछ । यसमा कही कतै सम्झैता गरिनु हुँदैन । यसो भएमा नै स्वदेशमा ठुलो रोजगारीको सिर्जना भैं वैदेशिक रोजगारीमा जाने युवा युवतीहरूको संख्यामा उल्लेख्य कमी आउने छ । औद्योगिक तीव्र विकास मार्फत् नै मुलुकको समवृद्धि सम्भव छ । जनताको प्रति व्यक्ति आम्दानी बढ्दै जाँदा मुलुकमा देखा पर्ने अधिकांस द्धन्दहरू स्वतहः समाप्त भएर जानेछन् । यस्तो परिस्थितिमा भर्खरै सम्पन्न भएको लगानी सम्मेलनले अनेक नयाँ तरंग सिर्जना गराएको छ ।

(पोख्रेल , ग्रामिण बिकाश बैंक बुटवलका अधिकृत हुन)

Leave a Reply