देशको भैतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने काम नै देश विकासको काम हो । देशको भौतिक अवस्थालाई विपन्नताबाट सम्पन्नता तर्फ नराम्रो अवस्थाताबाट राम्रो अवस्थातर्फ यथास्थिबाट उन्नतीतर्फ लैजानुलाई देश विकास भनिन्छ । जबानीले नछाडेका र बुढ्याईले नछोएका युवा युवतीहरूको समुदायले नै देश विकास जस्तो गुरूतर र जिम्मेवारीलाई सहजताका साथ बहन गर्न सक्दछ । राष्ट्रिय विकासको रथ तान्ने आधारभुत शक्ति भनेको युवावर्गको शक्ति हो र त्यो शक्ति नै वास्तवमा देश विकासको ऊर्जा हो । युवाका लामालामा सबल भुजाहरूले जुनसुकै चुनौती र अवरोधहरूलाई पनि धुजाधुजा पार्न सक्तछन् । युवा युवतीहरूका जोस् र जागरका अगाडि जस्तोसुकै कठिन चुनौतीले पनि शिर निहुँराउनै पर्छ । अतःयुवाहरूका आँट र उत्साहको उपलब्धि प्राप्त गर्दा देशले विकास मार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै परास्त गर्न र चुडाल्न सक्दछ र विकासको अभियानमा देशले लामो फड्को मार्न सक्दछ ।
युवाहरू देश विकासका ऊर्जा हुन् जसको आँट र हिम्मत देश विकासमा राम्ररी प्रयोग हुन सकेमा जुनसुकै मुलुकले पनि विकासको गतिमा तीव्रता प्राप्त गर्दछ । बगेर खेर गइरहेको नदीमा बाँध बाँधेर विद्युत् उर्जा निकालेझैँ खेर गइरहेको युवा शक्तिलाई सुसङ्गठित पारी राष्ट्रिय विकासको अभियानमा पोख्न सक्ने जुनसुकै मुलुकमा पनि विकासको हरियाली लहलहाउँदछ, सम्पन्नताका भकारीहरू भरिन्छन् ।
विश्वमा भौतिक विकासका क्षेत्रमा चरम उपलब्धि हासिल गरेका युरोपेली राष्ट्र होउन् वा एसियाली राष्ट्र जापान, सिङ्गापुर होउन् ती मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा आरूढ गराउनमा त्यहाँका युवाहरूका निस्वार्थ समर्पण र त्यागले अहम् भूमिका खेलेको छ । जुन देशमा युवा युवतीहरूले आफ्नो सिर्जनात्मक श्रम, सीप र तीक्ष्ण बुद्धि–विवेक देशकै लागि खर्च गरेका छन् र त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न सकिएको हो ।
देश विकासका कार्यमा प्रत्येक युवा युवतीले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान पु¥याइरहेका हुन्छन् । जीवन चक्रमा हरेक व्यक्ति एकपटक युवा अवस्थामा पुग्दछ र ऊ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनित महायज्ञमा सरिक भएकै हुन्छ । इन्जिनियर, वकिल, शिक्षक, प्रध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवा अवस्थामा नै हुन्छ । ती सेवामा प्रवेश गर्नेले आ–आफ्नो युवाजोस् राष्ट्रसेवामा लगाएकै हुन्छन् ।
बाटोघाटो, कुलो, नहर निर्माण गरी एउटा इन्जिनियरले मुलुकको भौतिक विकासमा नयाँ आयाम दिएको हुन्छ भने वकिलले न्याय सम्पादनका क्षेत्रमा, शिक्षक–प्रध्यापकको अध्यापनका क्षेत्रमा योगदान पु¥याउँछन् । लेखकले कलमको र कलाकारले कुर्चीको प्रयोग गर्दै आफ्नो सुन्दर सिर्जनालाई कागत र क्यानभासमा उतारेका हुन्छन् र साहित्य र कलाका माध्यमबाट मुलुकको सभ्यता एवं सस्ंकृतिलाई समुन्नत तुल्याउन अग्रणी भूमिका निर्वाह गरेका हुन्छन् । सैनिकले शस्त्रास्त्रले सुसज्जित भएर राष्ट्रिय अखण्डताको पहरेदारको भूमिका निर्वाह गरेका हुन्छन् भने प्रहरीले जनताको जिउधन र सामाजिक शान्ति सुरक्षाको क्षेत्रमा आफ्नो योगदान दिएकै हुन्छन् ।
यसरी देशविकासको कार्यमा हरेक युवा युवतीहरूले आ–आफ्नो क्षेत्रबाट विभिन्न पेसामा रहेर राम्रो भूमिका निर्वाह गरिरहेका हुन्छन् । मुलुकको विकासमा गहनतम भूमिका निर्वाह गर्ने युवावर्गलाई देश विकासमा सक्रिय गराउन राज्यले विशेष पहल गर्नुपर्दछ । राज्यमा युवाहरूको मनोबल बढाउने खालको वातावरण तयार पारिनुपर्छ । उचित वातावरणका अभावमा आफ्नो देशमा उचित शिक्षा, रोजगार, काम र माम नपाउँदा कतिपय युवाहरू बरालिन्छन् । युवावर्ग बरालिँदा देश विकासको गति ओरालो लाग्छ । कलिला ओठमा जुवा रेखि बस्न नपाउँदै रोजगारीका नामका लागि विदेश पस्न युवाहरू जहाँ बाध्य छुन्छ त्यस देशको अनुहारमा अधोगतिको चाया देखिन्छ र अवन्तीको छाँया देखिन्छ । परिवार र समाजको समुचित माया र स्नेह नपाएका वा आवश्यकता भन्दा बढी माया र स्नेहले पुल्पुलिएका बालकहरू जब युवा बन्दछन् ती मध्ये पनि केही विकृती विसङ्गती तर्फ लागेका हुन्छन् ।
त्यस्ता कुलत र दुव्र्यसनमा लाग्ने युवाहरू पनि परिवार, समाज र राष्ट्रकै टाउको दुखाई बन्न पुग्दछन् । त्यस्ता वर्गहरूका लागि पनि योग्यता, क्षमता, रूचि र दक्षता अनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा तिनले पनि देशविकासको होस्टेमा हैँसे गर्न पुग्दछन्, सिर्जनाका नवद्धारहरू खोल्न सक्छन्, मुलुकको अस्तित्वमा सङ्कट आउँदा धक फुकाएर बोल्न सक्छन् र राष्ट्रियताका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् अनि विपन्नता, गरिबी र पछौटेपनका विरूद्ध सजिलैसँग धावा बोल्न सक्छन् । तसर्थ हाम्रो देशको युवा स्रोतलाई निर्माणतर्फ प्रवाहित गर्न राज्यले रोजगारका बाँध बाँध्नै पर्छ । उनीहरूको उत्साहको धारमा उच्च आत्मबल र मनोबलको साँध लाउनै पर्छ ।
हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने पृथ्वी नारायण शाह बीस वर्षे कलिलो उमेरमै नेपाल एकिकरणको सुन्दर सपनालाई विपनामा अनुवाद गर्न तम्सिए र नपाल राष्ट्रको निर्माणका लड्दालड्दै उनको युवा अवस्था बित्यो । उनी जस्तै शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल जस्ता युवाहरूले राणा शासनको निरङ्कुशताबाट मुलुकलाई मुक्त पार्न हाँसीहाँसी घाँटीमा फाँसीको माला र छातिमा गोलि थापे । कैयौँ युवाहरूको रगतबाट नै नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भयो । तर वर्तमान अवस्थामा हाम्रो देश नेपालमा युवावर्गका श्रम र सीपको प्रयोग कम भएको अनुभव हुँदो रहेछ । त्यसैले नेपाल विकासका गतिमा कछुवा दौडमा मात्र सीमित रहेको छ । नेपाली युवायुवतीहरू काम, माम र रोजगारीका लागि छिमेकी तथा टाढाका मुलुकमा भौतारी नुपर्ने अवस्था आएको छ । नेपालका युवा युवती विदेश पलाएन हुने स्थितिको अन्त्य नहुन्जेल नेपालले विकासको मार्गमा दु्रतगति लिन सक्ने देखिँदैन ।
समष्टिमा भन्नुपर्दा देश विकासमा युवावर्गको महत्वपुर्ण भूमिका हुन्छ । देशविकासको गहकिलो जिम्मेवारीलाई बोक्न सक्ने बलियो खम्बाका रूपमा रहेका युवावर्गलाई अल्छी हुन र कुलतमा बरालिन नदिई उनीहरूलाई जोस् र होस्का साथ कम्मर कसेर बढ्नका लागि अनुकूल वातावरण बनाइदिएमा मुलुकको विकासमा युवावर्गले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछन्, मुलुकको भौतिक विकासमा युवाहरूले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन् ।
(बेल्बासे बुटवलका कृयाशिल युबा हुन )












