दुई वर्ष अगाडि निमार्ण सुरू भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निमार्णको काम २८ प्रतिशत भएको छ । भौतिक रूपमा बिमानस्थलमा ३ किलोमिटर लामो धावनमार्ग निर्माण गरी सब ग्रेड गर्ने काम सम्पन्न भएको छ । धावनमार्ग बनाउन मुख्य समस्याका रूपमा रहेको घाघरा नदी फर्काउने काम पनि सकिएको छ । खोला फर्काउन २ किलोमिटर ५ मिटर (२५ सय मिटर) नयाँ खोला बनाउनु परेको थियो । ३३ मिटर चौडाई र ६ मिटर गहिराई (पानीको सतह) रहेको छ । त्यस्तै गरी अन्तर्राष्ट्रिय टर्मिनल बिल्डिङ्गको सब बेसको काम सम्पन्न भइसकेको छ । लक्ष्य अनुसार काम भएको भए हालसम्म बिमानस्थल निमार्णको काम ४० प्रतिशत भन्दा बढी भइसक्नु पथ्र्यो । तर बिभिन्न बहानमा काममा ढिलाई हुँदा लक्ष्य अनुसार काम भएको छैन् । २०७१ माघ १ गते (३१ डिसेम्बर २०१४) का दिन तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले बिमानस्थल निर्माण शिलान्यास गरेका थिए । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरू भएको बिमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्नु पर्ने गरी सहमती भएको थियो । तर निमार्ण कम्पनीले बिभिन्न बहानामा निमार्ण समय थप गरेर सन् २०१८ को जुनसम्म पु¥याएको छ । निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल सरकारको गौरवाको आयोजना हो ।
गौतमबुद्ध बिमानस्थल स्तरोन्नती आयोजना भैरहवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणको काम ढिलाई भएपछि निर्माण गर्दै आएको ठेकेदार चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन’का अध्यक्षलाई छलफलका लागि भैरहवा झिकाएको छ । आयोजनाको कार्यालयले यस अघि पनि निर्माणकार्यलाई दु्रतगति दिन भनि बारम्बार निर्माण कम्पनीलाई पत्राचार गर्दै आएकोमा अहिले अध्यक्षलाई नै झिकाएर छलफल गर्न लागेको हो । यसअघि आयोजनाको मुख्य दातृ संस्था एसियाली विकास बैंक, अर्थ मन्त्रालय, नागरिक उड्डयन विभाग, आयोजनालगायतका निकायबीच भएको समिक्षा बैठकले तोकिएको समयभित्रै आयोजना सम्पन्न गराउन ठेकेदार कम्पनीलाई मार्चसम्ममा ३०, अप्रिलसम्म ३३, मेसम्म ३८ र जुनसम्म ४४ प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने गरी लक्ष्य निर्धारण गरेको छ । लक्ष्य अनुसार अब काम नगरे उक्त कम्पनी कारबाहीमै पर्न सक्नेछ । तर निमार्ण कम्पनीलाई कारबाही गरेर मात्र समस्याको समाधान हुँदैन । अहिले ठेकेदार कम्पनीलाई आर्थिक अभाब भएको कुरा सार्वजनिक भएको छ ।
ठेकेदार कम्पनीले आफूले प्रयोगमा ल्याएका टिप्पर, स्क्याभेटर, डोजरलगायतका विभिन्न उपकरण, निर्माण सामग्री, इन्धनको भुक्तानी दिन नसक्दा सम्बन्धित धनीले आयोजनालाई फेरि उपकरण दिन मानेका छैनन् । ठेकेदार कम्पनीसँग सम्झौता गरेका विभिन्न पेटी ठेकेदार, आपूर्तिकर्ता, सहयोगीले पनि पैसा नपाएको बताउँदै आएका छन् । आयोजनाको कार्यालयबाट कुल लागतको (६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रूपैयाँ) १५ प्रतिशत र बिभिन्न समयमा पेश गरेको बिलको आधारमा १ अर्ब ४० करोड भुक्तान लिइसकेको छ । ठेकेदारले रकम लिइरहने तर पार्टीहरूले भुक्तानी नपाउने अवस्था हँुदैन । जेजस्तो समस्या देखाए पनि तोकिएको समयमै विमानस्थल निर्माण सम्पन्न गर्न जरूरी देखिन्छ । त्यसका लागि सम्बन्धित निकायहरू दोषारोपणभन्दा कामलाई दूर्त गतिमा अगाडि बढाउनु पर्छ । कहिले नदीजन्य पदार्थ, कहिले बन्द त कहिले विद्युत् र आर्थिक अभाव जस्ता कारण देखाएर निर्माणमा ढिलाई गर्नु क्षम्य हुँदैन । आउने समस्याका लागि पहिले नै तयारी गरेर काम रोकिने अवस्था आउनु दिनु हुँदैन ।













