न्यूज ओके रिपोर्टर । भैरहवा । नेपालमा आन्तरिक भ्रमण गर्ने संस्कार बिस्तारै बढ्दै गएको छ । नेपालीहरू देशका विभिन्न पर्यटकिय स्थलका साथै ग्रामीण क्षेत्रका होम स्टे (घरमा पाहुना बस्ने तर पैसा तिरेर)मा बस्ने चलन पनि बढ्दो छ । घर परिवार संगै उनीहरूको रहनसहन र उनीहरूले पकाएर दिएको परिकार उनीहरू संगै बसेर खाने र उनीहरूको संस्कृती रहन सहन बुझ्न समेत पाइने भएकाले अहिले होम स्टे मा जाने प्रचलन बढ्दै गएको छ ।
होटलमा बस्ने भन्दा भिन्दै परिबेश होम स्टेमा हुने भएकाले पनि अहिले होम स्टे नेपालमा बिस्तारै बढ्दै गएको छ । तराईमा भन्दा पनि पहाडी क्षेत्रमा अहिले होम स्टेको प्रचलन बढेको हो ।
यस्तै होम स्टे पाल्पाको दोभान गाबिसमा रहेको छ । बुटवलबाट नजिकै सुकेताल होम स्टे अहिले यस क्षेत्रमा चर्चित बन्दै गएको छ । गर्मीको समयमा ४०–४२ डिग्री तापमान सम्म पुग्दा भैरहवा बुटवलबासीलाई केही भए पनि राहत दिने गरेको छ होम सुकेताल होम स्टेले ।
गर्मी समयमा प्राय ४० डिग्रीको सेरोफेरोको तापमानको गर्मि सहदै आएका हामीलाई थाहा थिएन की ४५ मिनेटको सडक यातायात पछि यती चिसो मौसममा बस्न पाइन्छ भनेर, साल्ट ट्रेडिङ्ग कर्पोरेशन अञ्चल कार्यालय भैरहवाका प्रमुख तथा जगर्श गु्रपका संस्थापक अध्यक्ष हरिचन्द्र श्रेष्ठले अघिल्लो वर्ष जेष्ठ महिनामा सुकेताल होमस्टे पुगेको स्मरण गर्दै श्रेष्ठले भने ।
गर्मी छल्न भन्दै हामी कहा कहा भौतारिन्छांै, नजिकै ग्रामीण परिबेशमा होम स्टे सञ्चालनमा रहेछ, यसलाई अझ ब्यवस्थित गरी प्रचार गर्नु पर्छ, गर्मी क्षेत्रमा बस्नेहरूका लागि छोटो बसाई बस्न उत्कृष्ट गन्तब्य बन्छ, श्रेष्ठले भने । अर्को हप्ता हामी फेरी समुह बनाएर त्यहाँ जाने योजना बनाउँदैछांै, श्रेष्ठले भने । अघिल्लो वर्ष हामी सुकेताल होमस्टे भ्रमण गरी फिर्ता आएपछि हामीले अरूलाई पनि त्यहाँ जान उत्प्रेरणा ग¥यौ, पछि धेरै समुह जानु भयो । यो होमस्टेलाई अझ ब्यवस्थित गर्न सकियो भने धेरै राम्रो हुन्छ, यहाँको पर्यटन समितिले थप सक्रियता देखाउनु भयो ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको दोभानबाट तल खोलामा झरेर चुन ढुङ्गा खानी क्षेत्रको बाटोलाई केही माथीसम्म पछ्याई माथि डाँडामा समुद्र सतह देखि करिब ९ सय मिटरको उचाईमा सुकेताल होम स्टे रहेको छ । भैरहवा समुद्र सतह देखि १२० मिटरको उचाईमा छ । ४५ मिनेटको समय अन्तरमा मौसम निकै अनुकुल भएको र पुरै ग्रामीण रहनसहन भएको सुकेताल होम स्टे अहिले यस क्षेत्रका सर्बसाधारणलाई गर्मी छल्ने थलो बनेको छ । गर्मीका समयमा भैरहवा÷बुटवलमा बसेकाहरू सुकेतालमा गएपछि पातलो जैकेट (विनसिटर) र राती ओढन सिरक खोज्छन, सुकेतालको बिशेषता भनेकै त्यही रहेको आफुले पाएको भैरहवाका युबा ब्यबसायी बिकाश श्रेष्ठले बताए ।
भैरहवाका युवा ब्यवसायी रमेश घिमिरेले भने । माथि अग्लो पहाड, मुनि सानो समथर जस्तै भागमा रहेको सानो तालबाटै त्यहाँको नाम सुकेताल रहन गएको छ । त्यही तालबाट लघुजल विद्युत् उत्पादन समेत भएकाले त्यहाँ कहीले पनि बत्ति जाँदैन् । त्यहाँका जनताले लामखुट्टेले टोकेको अहिलेसम्म थाहा पाएका छैनन् ।
दोभान क्षेत्र पर्यटन विकास समितिको पहलमा सुकेताल ग्रामीण सामुदायिक होम–स्टे ब्यवस्थापन समिति अन्तरगत होम स्टे सञ्चालनमा छ । त्यहाँका ४ घरले होम–स्टे सञ्चालन गरिरहेका छन् ।
संभबत नेपालको सबैभन्दा सस्तो होम स्टेमा यो पर्दछ । होम–स्टेमा प्रति ब्यक्ति खाना एक छाकको २ सय (साकाहारी)२५० रूपैयाँ मांशाहारी) तथा एक रात बास बसेको प्रति ब्यक्ति एक सय रूपैयाँ रहेको छ । यस्तो सस्तो होम स्टे मैले कही सुनेको थिएन खान बस्न निकै सस्तो रहेछ, यो नेपालकै सस्तो होम स्टे हो, होम स्टेमा गएका लक्ष्मी स्टील कम्पनीका बजार अधिकृत दिनेश पोखरेलले भने  । सबै होम–स्टेमा स्थानीय कृषि उत्पादनहरू चामल, तरकारी, गेडागुडी प्रयोगमा बढी जोड दिइएको छ । त्यस्तै गरी फापर, कोदोको रोटी, ढिडो पनि उपलब्ध हुने गर्दछ । लोकल कुखुरा र खसी पनि त्यहाँ उपलब्ध छ । आलु, प्याज, लहसुनका साथै गेडागुडी र हरियो तरकारी पनि त्यहाँ स्थानीय तहमै उत्पादन हुने गर्छ ।
रातीमा स्थानीय क्लबबाट आगन्तुकहरूलाई ३ घन्टा सम्म सांस्कृतिक कार्यक्रम देखाइन्छ । सांस्कृतिक कार्यक्रमको शुल्क भने समुहमा १५सय रूपैयाँ लाग्दछ ।
४ घरमा सञ्चालित होम–स्टेमा २५ जनासम्म बास बस्न सक्छन् । २०६७ सालबाट ग्रामीण होम – स्टे का रूपमा सञ्चालन भइरहेको र अहिले वरपरको क्षेत्रमा लोकप्रिय बन्दै गइरहेको तथा निकट भबिष्यमा थप घरमा पनि सञ्चालन गर्ने योजना रहेको दोभान पर्यटन विकास समितिका अध्यक्ष दल बहादुर गुरूंग बताउँछन् ।
शुक्रबार, शनिबार र बिदाको समयमा धेरै जना आउने गरेको होम स्टे सञ्चालिका मन कुमारी उचैले बताइन् । ‘कहिले त यती धेरै आउनु हुन्छकी हामीलाई ब्यवस्थापन गर्नै गाह्रो हुन्छ, तर पनि आउनेहरूले बास नपाएर फर्कनु परेको छैन्, होमस्टेका अर्का सञ्चालक मिन बहादुर उचैले भने । बाँकी दुई घर पुर्ण कला गाहा र दिपक रानाले पनि होम स्टे सञ्चालन गरेका छन् ।
होम स्टेलाई अझै ब्यवस्थित गरी कम्तिमा १ सय जना सम्मलाई बास बसाउन गर्ने गरी अरू घरहरूमा पनि थप गर्न जरूरी छ ।
सुकेताल होम स्टे सञ्चालकका साथै सुकेताल ग्रामीण सामुदायिक होम –स्टे ब्यवस्थापन समितिले भैरहवा स्थित पर्यटन कार्यालयका अधिकृतहरूलाई आफुहरूले सञ्चालन गरेको होम –स्टेको निरीक्षण गरीदिन धेरै पटक आग्रह गरे पनि नआएको गुनासो स्थानीयको छ, खोई किन आउनु भएन हामीहरूले आग्रह गरेको हो, मन कुमारीले भनिन् ।
सुकेताल होम स्टे सुचिकृत भने छैन् । ता पनि त्यहाँ जाने पर्यटकहरूले सेवा सुबिधाबाट बन्चित हुनु परेको छैन् । हामीहरूले राम्रो आतिथ्यता प्राप्त ग¥यौ, हामीहरूको मन पहिलो पटकमै सुकेताल होम स्टे ले जितेको छ, पर्यटकहरू भन्छन् ।
गर्मीबाट आएका हामीलाई यहाँको मौसम निकै राम्रो लाग्यो, स्थानीय रहनसहन, ग्रामीण परिवेसले सबैलाई लोभ्यायो, अब टाढाको होम स्टे किन जाने नजिकैको लाई प्रबद्र्धन गर्नु पर्छ, लायन्स क्लब अफ सिद्धार्थनगरका निबर्तमान अध्यक्ष राजेश खरेल भन्छन् ।
नेपालमा पर्यटन नीति काठमाण्डांै, पोखरालाई हेरेर बनाइने भएकाले अन्य क्षेत्रको पर्यटन बिस्तारमा त्यसले समस्या आउने गरेको र पर्यटन क्षेत्रको विकासमा अप्ठेरो पर्ने पर्यटन बिदहरू बताउँछन् ।

Leave a Reply