भुवन पाण्डे /न्यूज ओके
भैरहवा
गहँु र तोरी सिजनका लागि यो वर्ष पनि मल अभाव देखिएको छ । मल बढी चाहिने सिजनमै मल ल्याउन टेण्डर प्रकृयामा सरकारले चासो नदिँदा अभाव भएको हो । पश्चिमका जिल्लाहरूमा मल ढुवानी गर्ने जिम्मा पाएकोे साल्ट ट्रेडिङ कर्पोरेसन रूपन्देही शाखामा धानको सिजनमा सकिएको मल अझै आएको छैन । मल कहिले आउने भन्ने एकिन समेत नभएको कार्यालयले बताएको छ । गहँुका लागि सुरूमा डिएपी मल चाहिन्छ । डिएपीकै अभावले किसानहरू समस्यामा छन् । मल नपाएपछि सिमा नजिकका केही किसानहरूले भारतीय बजारबाट गुणस्तर र पोषकतत्व कम भएको रासायनीक मल राख्ने गरेका छन् ।
यसले एकातिर रकम बढी खर्च हुने र अर्कोतिर उत्पादन बढाउन नसक्ने कृषि विज्ञहरू बताउँछन् । कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले किसानले बेलैमा मल नपाउँदा बीउ छर्न नपाएको बताए । मंसिर १५ भित्रमा गहँु छर्न पाए मात्रै राम्रो गाज हाल्ने र उत्पादकत्व बढ्ने उनले बताए । गहँुको उत्पादन नै घट्न नदिन र किसानले सहजै मल पाउने व्यवस्था गर्न पटक–पटक केन्द्रीय तहसम्म मलको आपूर्तिका लागि पहल गरेको उनले बताए ।
पश्चिमाञ्च, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल क्षेत्रमा मल आपूर्ति गर्ने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवाले पनि यो हप्तालाई मात्र किसानलाई मल दिन सकिने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवा प्रमुख गोविन्द पराजुलीले बताए ।
भएकाले अनुदानको सरकारी मलको आयात समयमै व्यवस्था मिलाउन कृषि वीज्ञहरूको सुझाव छ । कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय भैरहवामा अहिले युरीया ३८ सय टन, डिएपी २३ सय टन र पोटास १४ सय मेट्रिक टन मलको मात्र मौजात रहेको छ । गहुँ र तोरी सिजनका लागि यो वर्ष कार्यालयमा युरीया साढे १२ हजार टन, डिएपी १० हजार ५ सय र पोटास २५ सय मेट्रिक टन आएको छ । यो मागको एक चौथाइ मात्रै रहेको कार्यालय प्रमुख पराजुलीले बताए ।
समय गुज्रेपछि धानको मूल्य निर्धारण
किसानहरूले धान स्याहारेर बेचिसकेपछि मात्र रूपन्देहीमा धानको मुल्य निर्धारण भएको छ ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सोना मनसुली २२ सय ५० र गोरखनाथ २५ सय रूपैयाँ कुण्टल हुने गरी धानको मूल्य निर्धारण गरेको हो । धानको मूल्य तोकिए पनि अधिकांश किसानहरूले बिचौलीहरू मार्फत् सस्तो मूल्यमा धान बिक्री गरिसकेका छन् ।
किसानहरू विचौलियाले लगाएको मूल्यमा मोटा धान १६ देखि १७ र मसिना २१ देखि २२ रूपैयाँमा बेचिसकेको बताए ।खाद्य संस्थान रूपन्देहीले भने किसानहरूको हातबाटै सोना मनसुली र गोरखनाथ ३ हजार मेट्रिक टन खरिद गर्ने जनाएको छ । रूपन्देहीमा साढे ६९ हजार हेक्टरमा धान रोपिएको थियो ।
यसबाट करिब ३ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषि विकास कार्यालयको अनुमान छ । उत्पादन भएको सबै धान खरिद गर्ने क्षमता खाद्य संस्थानसँग नभएकोले बिचौलियाहरूलाई उनीहरूले भनेको मूल्यमा बिक्री गर्न बाध्य भएको कृषि अधिकारीहरूको भनाई छ ।
रूपन्देहीमा उत्पादित धानमध्ये ४० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । यसरी समय गुज्रेपछि मूल्य निर्धारण गर्दा किसानहरूले आफूहरू मर्कामा परेको जनाएका छन् ।













