थाइल्याण्डको फुकेटमा पर्यटकलाई आकर्षित गर्न बिशाल “बुद्ध मूर्ति”

0
81

बुद्ध जन्मस्थल लुम्बिनी अथवा वरपरका अन्य क्षेत्रमा पनि यस्तै बिग बुद्ध मुर्ति निर्माण गरिए पर्यटकलाई थप आकर्षण गर्न सकिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक १ लाख ४० हजार बिदेशी पर्यटक मुस्किलले पुग्छन् भने फुकेटको बिग बुद्ध अवलोकन गर्न वार्षिक १५ लाख बढी पर्यटक पुग्ने गरेको छन ।

मनोरञ्जन शर्मा                                                                                                                थाईलैण्ड

थाइल्याण्ड बुद्ध धर्म मान्ने देश हो । यहाँको जनसंख्या ६ करोड ८३ लाख भन्दा बढी छ । जनसंख्याको  ६ करोड ३० लाख भन्दा बढी जनसंख्या बुद्ध धर्म मान्छन् (९३ प्रतिशत) । तर बुद्धको जीवनीमा खासै त्यस्तो कुनै सम्बन्ध थाइल्याण्डसँग छैन ।

बुद्धको अस्तिधातु यहाँको एक स्थानमा रहेको दाबी बाहेक अरू कुनै सम्बन्ध छैन । तर पनि बुद्धलाई यहाँ अति पुजनीय भगवानका रूपमा सबैले लिने गरेका छन् । त्यसैले यहाँका प्रायः धेरै स्थानमा पछिल्लो समय बुद्ध भगवानसँग सम्बन्धित धेरै भौतिक संरचनाहरू निर्माण भएका छन् भने प्राचीन सम्पदाहरू पनि धेरै रहेका छन् । थाइल्यण्डमा बुद्ध शिक्षाको प्रचार गर्न सम्राट अशोकले आप्mना शिस्यहरूलाई पठाएको ग्रन्थमा उल्लेख भएको लुम्बिनीमा अवस्थित अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष तथा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय महाथेरो बताउँछन् ।

थाइल्याण्डबाट करिब ८० किलोमिटर टाढा रहेको अयोथ्याहा शहर पनि बुद्धको जीवनीमा आधारित विभिन्न सम्पदा भएको प्राचीन शहर हो । अयोत्थाहा प्राचीन राजधानी पनि हो थाइल्याण्डको । त्यस्तै अर्को पर्यटकिय शहर फुकेत बैंककबाट करिब पौने सात सय किलोमिटर पर छ । समुन्द्रको छेउमा अवस्थित यो सहर पर्यटकहरूको मुख्य गन्तव्य पनि हो ।

फुकेट शहरको पनि बुद्ध भगवानसँग कुनै साइनो छैन । तर  फुकेटमा आउने पर्यटकहरूलाई थप आकर्षण दिन यहाँको एक डाँडामा निर्माण भएको  भगवान गौतमबुद्धको बिशाल मूर्ति अवलोकन गर्न दैनिक हजारौँ हजार बिदेशी त्यहाँ पुग्ने गरेका छन् । करोन र चलोंगको बीचमा फुकेट शहरको दक्षिण तर्फ रहेको न्याकर्ड पहाडमा यो बिशाल बुद्ध मुर्ति रहेको छ । बौद्धधर्म प्रति आस्था राख्नेहरूको लागि मुख्य गन्तव्य तथा त्यहाँ आउने पर्यटकहरूका लागि थप आकर्षण दिन १२ वर्ष अघिबाट एक  व्यक्तिको प्रयासमा बिग बुद्धको निर्माण सुरू भएको हो । अहिले दक्षिण पूर्वि एशियामा फुकेटको बिग बुद्ध निकै प्रचारमा छ । त्यसैले फुकेट आउने पर्यटक त्यहाँ नपुगी फर्कदैनन् ।

बिग बुद्ध मूर्तिको उचाई ४५ मिटरको रहेको छ भने  आधार (बेस) मात्रै २५ मिटरको रहेको छ । बर्माबाट ल्याइएको शुद्ध सेतो मार्बलको प्रयोग गरी बिग बुद्धको मुर्ति बनाइएको हो । मुर्ति निर्माण गर्दा आधारमा मार्बलसगै कमलको फुलका पातहरू समेत राखिएको छ, जसले माया र खुसीको सन्देश दिएको छ । । ध्यान मुद्रामा रहेको बिशालकाय बुद्ध मुर्ति फुकेटको दक्षिणमा रहेको अन्डमान सागर तथा त्यहाँका अन्य आइल्याण्डबाट पनि सजिलै देख्न सकिने गरी बनाइएको छ । जसले गर्दा समुन्द्रबाट हेर्दा हरियालीको बीचमा सेतो बिशालकाय बुद्ध मुर्ति धेरै टाढाबाट प्रस्ट देख्न सकिन्छ । फुकेटको बिशाल बुद्ध मुर्ति रहेको स्थान सूर्यास्त भएको दृष्यावलोकन गर्ने महत्वपुर्ण स्थान समेत हो । अहिले थाई नागरिक र बिदेशी पर्यटकका लागि यो मुख्य आकर्षण बन्दै गएको छ ।

ठुलो बुद्धको मूर्ति  पछाडी अर्को सानो बुद्ध मुर्ति पनि निर्माण रहेको छ । जसको उचाई १२ मिटर रहेको छ भने २२ टन धातुबाट बनेको छ । बिग बुद्ध थाई राजा भुमिबल अदिल्यादेजको ८० औं जन्म दिवसको अवसरमा उनलाई समर्पण गरिएको थियो भने अर्को बुद्ध मुर्ति रानी सिरीक्रित प्रति समर्पित गरी बनाइएको छ ।

बिग बुद्धको लागत ३० मिलियन भाट (करिब ९० मिलियन नेरू) रहेको छ । सानो बुद्ध मूर्तिको लागत १२ मिलियन भाट भन्दा बढी छ । मूर्ति निर्माणका लागि स्वःस्र्फुत रूपमा सहयोग जुटेको हो ।

बिग मूर्ति परियोजनाका प्रमुख सुपोर्न वानिचकुलका अनुसार यो परियोजनालाई जान्ने र थाहा पाउने सबैले सहयोग गरेका छन, साथै इन्टरनेट र मिडियाले पनि राम्रो सहयोग गरे । पर्यटक आकर्षण गर्न बनाइएको फुकेटको बिग बुद्ध एउटा नमुना हो ।

बुद्ध जन्मस्थल लुम्बिनी अथवा वरपरका अन्य क्षेत्रमा पनि यस्तै बिग बुद्ध मुर्ति निर्माण गरिए पर्यटकलाई थप आकर्षण गर्न सकिन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा वार्षिक १ लाख ४० हजार बिदेशी पर्यटक मुस्किलले पुग्छन् भने फुकेटको बिग बुद्ध अवलोकन गर्न वार्षिक १५ लाख बढी पर्यटक पुग्ने गरेको फुकेटका एनआरएन व्यवसायी मनोज रानाले बताए ।

Leave a Reply